अनन्तकुमार वस्नेत छन्दमा सुललित कविता रचना गर्ने प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘शरद् ऋतु र दशैँ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले शरद् ऋतु र दशैँका विषयमा विविध पक्षलाई विषय र विम्ब बनाएको छ । -सम्पा. |
वर्षा याम गयो टाढा, छायो मौसम सुन्दर ,
स्वर्ग जस्तै भइन् धर्ती, छ उस्तै नील अम्बर !१!
•••
छैन बादलको घेरा, सुनिन्नन् मेघ गर्जन ,
हिलो मैलो धुलो छैन, छैन पर्जन्य वर्षण !२!
•••
सौन्दर्यका गरा टारी, निर्झरी कुञ्ज कानन ,
देखियो बेहुली जस्तै, शैलका दिव्य आनन !३!
•••
व्योमको वक्षमा छैन, वाष्पधारी पयोधर ,
हेर्दा बिछट्टको राम्रो, धराधाम मनोहर !४!
•••
न ता उष्म न ता ठण्डी, हावाको गति मन्द छ ,
फूल उद्यानमा फुल्दा, चारैतर्फ सुगन्ध छ !५!
•••
बाला धान झुलेका छन्, खेत मैदान टारमा ,
सद्भावको दशैँ आयो, आफ्नै द्वार सँघारमा !६!
•••
निस्के गोदावरी लाखौँ, रङ्ग भर्दै बगानमा ,
भृङ्गका दल घुम्दैछन्, उज्यालो वर्तमानमा !७!
•••
अङ्गमा छ नयाँ वस्त्र , टीका लाल निधारमा ,
आभा दीप्ति खुलेझैँ छ, यी सारा अनुहारमा !८!
•••
चण्डी सप्तशती पाठ, गरी दुर्गा उपासन ,
दशैँमा शक्तिको मात्रै, हुने चिन्तन पूजन !९!
•••
झर्ना शान्त नदी ताल, शरद्का कन्दरा वन ,
जस्तो छ यो धरा आज, उस्तै होस् जनको मन !१०!