मुकुन्द शर्मा यस समयका विशिष्ट कवि एवम् अनुवादक हुन् । उनको परिचय साहित्यसागरका समेटिइसकेको छ । प्रस्तुत शृड्खलामा उनको ‘गरिबको दशैँ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले दशैँ सबैका लागि समान नहुने पक्ष उजागर गरेको छ । -सम्पा. |
थाहै त होला जगदम्बिकामा
दशैँ ! कहाँ छौ नि, दुला दुलामा
दरिद्र दुब्लाइरहेछ, आऊ
चिसो खरानी छ चुला चुलामा
उमङ्ग आगो उसमा खन्याऊ
दिने कुनै छैन दया लिएर
लिनेहरूको छ हजार ताँती
गरीबको नै पसिना पिएर
सत्ता झुलेको छ गरीबमाथि
दुर्गा भवानीकन ढोग गर्छु
सुनून् दरिद्रीजनको पुकार
पढेर पाठादि म पाउ पर्छु
ल्याऊन् समुल्लास दशैँ तिहार
प्रशस्त बोका कुखुरा चढाई
धनी रहन्छन् पिङमा झुलेर
यता मुठीमा चिउँडो अड्याई
दरिद्र रुन्छन् दुखमा डुवेर
जे चाड आए पनि हुन्छ बाधा
आधार आलम्बन खस्किइन्छ
ओरापरी गर्न बजार जाँदा
तुहुन्छ आशा मुटु झस्किइन्छ
कुनै नशामा अलमस्त बन्छ
छेलो र खेलो रुपियाँ उडाई
कुनै दशामा किन ग्रस्त हुन्छ
कोही दिऊन् उत्तर यो मलाई
बजारमा भीड र रङ्ग जात्रा
उमङ्ग चङ्गा सरि माथि पुग्छ
गरीबको झन् बहको छ मात्रा
यो लेखनीभित्र यथार्थ दुख्छ
बजार चर्को सरकार पापी
अन्योल मात्रै छ सबैकुरामा
को सुन्छ पीडास्वर कान थापी
थाहै त होला जगदम्बिकामा
कथा सुनाएर धनी हुनेको
गरीबले बालक-बालिकामा
रमाइलोको सपना तुनेको
थाहै त होला जगदम्बिकामा ।