पुरु लम्साल युवा पुस्ताका विशिष्ट कवि एवम् नाटककार हुन् । उनले नाटक लेखन र निर्देशन गर्नका साथै विभिन्न अभियान चलाउँदै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा छुक्रिएको रक्तपिण्ड कविता समेटिएको छ । यस कविताले नारी समस्या र नेपाली समाजको लैङ्गिक दृष्टिकोणलाई निकै विम्बात्मक रूपमा प्रस्तुत गरेको छ । -सम्पा. |
म शीतको मजेत्रो ओढेर
कल्पनाले जूनको आँगन पोतिरहँदा
आमा प्रसवपीडामा थिइन्
पत्तै पाइनँ
कतिबेला च्यातिएर पाठेघर र जन्मिएछ भाइ
जो आमाको आठौँ गर्भ हो ।
पहिलो सन्तान हुँ म
सायद पहिले भएरै बाँचेकी हुँला
पीडाको लट्टामा जेलिएको केश राशिमा
मैले लगाई दिएको स्नेहको तेलले
कति भिज्जा र
आमाका मरुभूमि बनिसकेको खप्पर
कति पलाउला र आशाको मुना
कति हुर्केला मृत रहरको रुमानी सपना
परीक्षणले पत्ता लगाएर
बाँच्न पाउने भाग्यमानी छोरो जन्मिएपछि
आमाले पनि बिर्सनुभयो होला
जिन्मिनै नदिइएका छ वटी छोरीहरू
बंश चल्ने खुसीले सीमा नाघेको आँगनमा
बामे सर्न सक्ने भयो भाइ
तर आमाले उठाउनै सक्नुभएन
नौ मैना आफैले बोकेको रक्तपिण्ड
आमालाई कसले थला पारेको होला ?
भर्खरै जन्मिएको भाइले ?
कि बंश चलाउन छोरा चाहिन्छ भन्नेहरूले ?
आमा थला परेकी हैनन्
थला परेको त समाजको सोच हो ।
सखारै गीत गाउने ढिकी जाँतोको आवाज
बिरानो भएको छ
अँध्यारोमा झस्काइरहन्छ आजभोलि
आफ्नै छायाले आमालाई
आमाको उमेरले नेटो काट्यो कि काटेन
पत्तो पाइनँ मैले
तर पत्तो पाएँ
रहरका पखेटा कुन्जि सकेछ्न्
बाध्यताको धागोमा बाँधेर छोडिएको चंगाले
जिन्दगीको लट्टाइमा धागो नसकुन्जेल रहेछ
हावामा कावा खेल्ने पनि ।
भाइ हिँड्यो
भाइ दौडियो
तर उठ्न सकेन आमाको शरीर
थला प¥यो ओछ्यानमै
सेताम्मै भएको कपालको मूलबाटोमा
रातो सिन्दुर फुलेको छ लालिगुराँस जस्तै
आमाको लत्रेको कानको लोतीमा
उसैगरी चिम्करेहो छ ढुङ्ग्री
नाकमा घण्टको रालोजस्तै
हल्ली रहेको छ बुलाकी
तर बजिरहेका छैनन्
हातका चुराहरू
पाउका पाउजूहरू
झिमिक्कै नगरि आकाश हेरिहेकाछन् आँखा
छोरी लक्ष्मी
छोरी भगवती
छोरी सरस्वती
छोरी महाकाली
आदिइत्यादि, भनेर पुज्ने यही समाज
तर, फेरि पनि किन पस्छ
बिज्ञानको कैँची बोकेर आमाको गर्भासयमा
र टुक्राउँछ
गर्भमै छोरीको रक्तपिण्ड ?