माधव घिमिरे (१९७७–२०७७) नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनका जीवनकालभरि गरिएको मकाकाव्य साधना यही साता घिमिरेको जन्मजयन्तीको अवसर पारेर सार्वजनिक गरिँदैछ । साहित्यसागरको औपचारिक यात्रा घिमिरेकै १०२औँ जन्मजयन्तीका अवसरमा गरिएको थियो । यस बेला हामी पनि दुई वर्षको यात्रा गर्दैछौँ । यस शृङ्खलामा घिमिरेको दीर्घ प्रतिक्षित काव्यको एक अंश सार्वजनिक गरिएको छ । बाँकी अंश काव्य सार्वजनिक भएपछि पढ्न पाइने छ । यहाँ प्रकाशित काव्यांशमा छोरीको विवाहमा दाइजो होइन आशीर्वाद र कामनाको खाँचो छ भन्ने पक्ष समेटिएको छ ।
-सम्पा. |
मातापिताले कति दाइजो दिए
आकाश धर्ती जति दाइजो दिए ।
नानी दिए लोचनलाई गाजल
चैतन्यको च्यादर चारु आँचल
नहेर्न पर्नेजति छोपिने सब
र हेर्न पर्नेजति देखिने सब ।
वीणा उनैकी प्रियवादिनी दिए
रैभी ऋचा पावन सङ्गिनी दिए
बसेर अन्तःपुरभित्र गाउने
र स्वर्गमा हिर्दय यो पुर्याउने ।
नशंसिनी नाम ऋचा अरू दिए
लोकन्तिनीतुल्य तिनीहरू थिए
क्यै काम गर्दा पनि गुन्गुनाउने
महत्त्व मान्छे हुनुको सुनाउने ।
दिने कुरा बाँकि रहेन क्यै पनि
बाँकी थियो आखिर एकतै पनि
जहाँ रहे तापनि सुक्खिनी रहे
भनेर आशीष दिए दिईरहे ।