भुवन शिवाकोटी चौघरेको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको काँडामा ठोकिएपछि शीर्षकको कविता समेटिएको छ । यस कविताले काँडाँसँग ठोकिएको विम्बमा मानवीय स्वभाव र सङ्गतको अनुभूतिलाई देखाएको छ । -सम्पा. |
काँडाले
म काँडा हुँ
फुलको वरिपरि हुन्छु
बोटमा हाँगा जस्तै फैलन्छु
म तिखो छु
मसँग नजिस्क
खोपिन्छौ
कहिल्यै भन्दैन
तर तिमी
फूलसँग आकर्षित भएर
फुल छुने लोभमा
फूल टिप्ने रहरमा जब नजिक जान्छौ
काँडाले डसेपछि बुझ्छौ
काँडाको क्रोध
मुस्कुराइरहेको फूलको कोमलता
काँडा
दृश्टिहिन भए पनि
जब तिमी ठोकिन्छौ
तब मात्र तिमीलाई थाहा हुन्छ
काँडाको आँखा हुन्छन्
काँडा रिसाहा पनि हुन्छ
चसक्क
पैतालामा
हातका औलाहरूमा काँडा बिझ्दा
अझै नजिकबाट चिन्छौ
काँडाको निर्दयता
ए ! मुर्ख मान्छे
अन्तत:
फूल हेर्दा हेर्दै
फूल छुँदाछुँदै
फूल टिप्दा टिप्दै
त्यही काँडा
जब तिम्रो आँखामा बिझ्छ
संसारमा अन्धकार हुन्छ
काठमाडौ