शोभा खनाल कोइराला (मकवानपुर) को परिचय खुल्न सकेको छैन । साहित्यसागरको मेलामा प्राप्त कवितालई यहाँ असारे कविता विशेषका रूपमा समेटिएको छ । यस कविताले असारे मौसम र कामलाई विषय/विम्ब बनाएको छ । -सम्पा. |
किसान बनी जन्मेका हामी नेपालीहरूमा
जीवन धान्न रोप्नुनै पर्ने खेत र बारीमा
बाउसे, हली देखिए रवि खेताली चन्द्रमा
धानको दिवा मनाऊँ आज आषाढ पन्ध्रमा ।
कसेर आली थुनेर पानी बाउसे दाजैले
गनेर हार रोपारे नानी रोप्तछिन् मज्जैले
असारे गीत घन्कियो कृषिप्रधान राष्ट्रमा
धानको दिवा मनाऊँ आज आषाढ पन्ध्रमा ।
घाम र पानी स्याखु र घुम छत्रीले छेकेर
बिउका मुठा छतार छुल्ल हिलोमा फ्याँकेर
ख्याल र ठट्टा रमाइकन हँसिलो मुद्रामा
धानको दिवा मनाऊँ आज आषाढ पन्ध्रमा ।
विदेशी भूमि पसिना खेर नफाल अबत
मानो नै रोपी उब्जने मुरी बनाई हर्कत
साहुको ऋण तिरौँला अब नजाऊ व्यर्थमा
धानको दिवा मनाऊँ आज आषाढ पन्ध्रमा ।
उठाई माथि कुना र काप्चा सुयोग्य बनाई
स्वरोज गार युवामा जोश जाँगर खन्याई
यी धर्ती माता सदैब भन्छिन् लागन कर्ममा
धानको दिवा मनाऊँ आज आषाढ पन्ध्रमा ।
नवलपुर