नेपाली समाजमा किसानको रहर कविता निकै चर्चित छ । यो कविता लक्ष्मीप्रसाद देवकोटाको, माधव घिमिरेको, दैवज्ञराज न्यौपानेको वा कसको भन्ने विवाद छ । यो कविता पुरानो पाठ्यक्रमको कक्षा पाँचको पाठ्यपुस्तकमा समेटिएको थियो । त्यस बेला पाठ्य पुस्तकमा समेटिएका कवितामा लेखकको नाम नदिइने हुँदा यसका लेखकको नाम के हो भन्ने जिज्ञासा यथावत छ । उक्त कविहरूले आफ्ना सङ्कलनमा कतै पनि यो कविता समेटेको देखिँदैन । त्यस अर्थमा यस कवितालाई यहाँ अज्ञात लेखकको कविताका रूपमा चर्चा गरिएको छ ।
-सम्पा. |
सानो छ खेत, सानो छ बारी, सानै छ जहान
नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।।
बिहानपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा ।।
काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली ।।
छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला
बनाई कुलो लगाई पानी आएर गोडौँला ।।
भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी !
गालामा साना पसिना दाना मोतीझैँ खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी ।
सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा ।।
सुनौला बाला झुलेर होला भुइँलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।।