डा. रमेश शुभेच्छु नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । उनले आफ्नो परियचय विशेषत: कविका रूपमा स्थापित गरेका छन् । यद्यपि उनी स्रष्टा मात्र नभएर उत्तिकै द्रष्टाका रूपमा पनि सक्रिय रहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘फलाउने याम मानो रोपेर मुरी’ शीर्षकको कविता प्रस्तुत गरिएको छ । प्रस्तुत कविताले असारमा हुने किसानको दैनिकी र उसको मानसपटलमा खेल्ने मनोभावलाई चित्रण गरेको छ । -सम्पा. |
भ्याइ नभ्याइ छ मलाई
मानो रोपेर मुरी फलाउनु छ
त्यान्द्रो सारेर बुच्का बनाउनु छ
आली ऐँचेला ताछेर आफै
गोरु नारेर आफै
आली लाएर आफै
बाउसे गरेर आफै
आफै गर्नुछ रोपाइँ
मुरी फलाउनु छ मानो रोपेर
बालो झुलाउनु छ दानो रोपेर ।
हो भ्याइनभ्याइ छ यतिबेला
पहिलो बाली उठाएर लाउनु छ दोस्रो बाली
पहिलो बाली कुहिन दिनुभएको छैन झरीमा
दोस्रो बाली रोपेर सारिसक्नु छ यही झरीमा
भ्याउनु छ एकै हल गोरुले तीन हलको मेलो
बेक्नु छ तीन डोका बिउ एकै डोकामा
रोप्नु छ रोपनी रोपनीको उत्पादन एकै फोक्टामा
मुरी फलाउनु छ मानो रोपेर
बालो झुलाउनु छ दानो रोपेर ।
सहर झरीमा बाहिर निस्कन छोडेका बेला
राजनीतिको नाराजुलुस निदाएका बेला
सांस्कृतिक पर्वहरू मुर्झाएका बेला
मेरा लागि
वास्तवमै छोटो भएको छ यो चौबिस घन्टे दिन
मिल्दिए हुन्थ्यो पैँचो लिन अटचालिस घन्टे दिन
अनन्त छ बाँझो खेत,
अनन्त छन् तिर्नुपर्ने पर्महरू
उर्वर बनाउन दौडिइरहेछु
सीमित छ समय, बालि लगाउन लम्किइरहेछु
यतिबेला एक दुई होइन, सत्र काम छोडेर मैले
मुरी फलाउनु छ मानो रोपेर
बालो झुलाउनु छ दानो रोपेर ।
प्रवाह छैन हिलो मैलोको
रमाइलो लागिरहेछ हिलाम्य बारी
भिजाउला भन्ने त्रसा छैन भिजाओस् झरी
मेरो कर्मयज्ञमा
रमाइलो लागिरहेछ झरी
राम्रो देखिइरहेछ खोलामा बाढी
त्यसलाई सिनित्तै सुकाएर हाल्नु छ खेतमा
राम्रो देखिइरहेछ हरियो ब्याड
त्यसलाई सिनित्तै काढेर रोप्नु छ खेतमा
बनाउनुछ त्यान्द्रा त्यान्द्रालाई बुच्का बुच्का
जतिसुकै ठुला अबसर हुन् यति बेला
ती सबै छोडेर किनारामा
मुरी फलाउनु छ मानो रोपेर
बालो झुलाउनु छ दानो रोपेर ।
हो यसबेला निम्ता गरेर जन्त आएन नभन्नु मलाई
यस बेला यज्ञ गरेर मन्दिर गएन नभन्नु मलाई
विधिपूर्वक धर्तीको विवाह गरिरहेछु म
उत्पादनको यज्ञ गरिरहेको छु म
लटपटिइरहेछु म धर्तीमै
साहुको रिन सम्झिएर पनि
परिवारका भोकका दिन सम्झिएर पनि
यतिबेला अनेक काम छोडेर
मैले मेट्नु छ परिवारको भोक
मेट्नु छ मुलुकको भोक
यही असारको अधिकतम सदुपयोग गरेर
आफै पुरानो बाली उठाएर
आफै नयाँ बाली लगाएर
मुरी फलाउनु छ मानो रोपेर
बालो झुलाउनु छ दानो रोपेर ।