नवराज लम्साल नेपाली साहित्यका सुपरिचित प्रतिभा हुन् । उनी साहित्यसञ्चारकर्मी, सर्जक, समीक्षक र संगठक पनि हुन् । उनको कविता सिर्जन सामर्थ्य, मुक्तक, गीत, कविता, काव्य र महाकाव्यमा फैलिएको र त्यत्तिकै जमेको पनि छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको अग्नि महाकाव्यको एउटा कवितांशलाई ‘अग्नि’ शीर्षकमै लिइएको छ । यस कविता अंश र शीर्षकको तालमेल नमिल्ला तर पनि यसलाई अग्नि शीर्षक दिएरै प्रस्तुत गरिएको छ । यस काव्य अंशले सीमान्तीकृत चेतनालाई अभिव्यक्त गरेको छ । काव्य सन्दर्भको कुरा गर्दा अग्नि महाकाव्यको मुख्य पात्रको नाम हो छेलाङी विश्वकर्मा । उसको कुरा सुन्न उसकै आरन पुगेको एक कविलाई ऊ यसरी भन्छ आफ्नो कुरा ।
-सम्पा. |
तिमीले लाख बत्ती बालेर
बत्तीसँगै बजाउने घन्टको रालो
मैले बनाएको हुँ।
तिम्रो
पाञ्चायन देउता राख्ने तामाको थाली
मैले बनाएको हुँ ।
तिमीले
भगवानलाई धूप अर्पण गर्ने धुपौरो
मैले बनाएको हुँ ।
तिम्रो पितृलाई तर्पण दिने
खगौतोमा चाँदी मैले भरेको हुँ ।
तिम्रो भान्सामा आगो बाल्न
अँगेनाबाट चोखो आगो लैजाने चिम्टा
मैले बनाएको हुँ ।
ताप्के, कसौडी र डाडुपन्युँको त के कुरा
सूर्यलाई अर्घ दिने चम्चा र अर्घौतो
मैले बनाएको हुँ ।
तिम्रो कुलदेउताको पूजामा
पूजाको धजा झुन्डिने त्रिशूल
मैले बनाएको हुँ ।
आफैसँग दाँजेर
यो पनि सम्झ महोदय-
तिमीले
तिम्रो श्रीमतीको चोखो सिउँदोमा सिन्दूर हाल्दा
त्यही शिरमा साक्षी बसेको शिरको चन्द्रमा मैले बनाएको हुँ ।