नवराज रिजालको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनका दश वटा मुक्तक समेटिएका छन् । कविता विधातर्फ मुक्तक सिर्जनालाई मूल विधा बनाइरहेका रिजालका यी मुक्तकले बहुविध विषयवस्तुलाई प्रस्तुत गरेका छन् । -सम्पा. |
१
अगाडि छ मूल बाटो शाखातिर मोडियौ तिमी
आत्मविश्वास गुमाएछौ फोटोमा जोडियौ तिमी
आत्मसम्मान स्वभिमान बन्धकीमा राखिसकेछौ
पल्लोतिर पुगे सहयात्री तल्लो मै छोडियौ तिमी
२
उनीहरूका काम नाँच्नु हो केवल नाँच्न सक्छन्
अस्तित्व मेटाएर भएपनि मज्जाले बाँँच्न सक्छन्
त्यसैका निम्ति मरिमेटेरै लागेका हुन् तिनीहरू
स्वार्थ बोकेर काँधमा सत्य समेत भाँच्न सक्छन्
३
स्वाभिमानको राग बोकी चाकडीमा रमाउँछन्
हिँडेको बाटो छाडी कसैको पुच्छर समाउँछन्
चौबाटोमा उभिएरै देखाउँछन् कुरूप मुहार पो
सोच्यो पाइला दह्रो होला तर खुट्टा कमाउँछन्
४
सपनाका व्यापारी हुन् उभिएका चोकतिर
उक्साउँछन् भिड्नुपर्छ हामी सधैँ भोकतिर
एक नास हमेशा ती उधारो व्यापार गर्छन्
अभिनय गर्दै जान्छन् देखाउँछन् लोकतिर
५
भरियाको भेष हाम्रो अँह कहिल्यै हेरिएन
बचाइको सीमारेखा जन्मौँ जन्म फेरिएन
सधैँ बोकी रहने व्यापारीको खोजमा छौँ
दया, माया,सद्भाव प्रेम त्यसले घेरिएन
६
कल्पनामा बाँच्छु भन्दै धेरै पियौँ हजुर
पियाइको मातैले त आफैँ खियौँ हजुर
तारतम्य मिलाएर आउने बाटो कुर्दैछु
आगो झोसी मनमा धोखा दियौँ हजुर
७
स्वार्थमाथि आसन जमाइरेछन् कोही
साक्षी बन्न पुच्छर समाइरेछन् कोही
रमाइलो छ दृश्य हेर्न यता आउनोस्
बाटामा उभीई खुट्टा कमाइरेछन् कोही
८
स्वजनलाई बिर्सेपछि यस्तै हुने गर्छ सधैँ
विश्वासको बगैंचामा वैरी आई चर्छ सधैँ
बनाउनेतिर पुल अस्मिताको गएकै छैन
त्यहीँबाट हिँड्न थाले अभिमान तर्छ सधैँ
९
मान्नोस् विचारको सौन्दर्य बलेको छैन अझै
आस्था व्यूझाउँने जाँगर फलेको छैन अझै
कुँजिएका छैनन् पाइला यात्रा चलिरहेको छ
हिंड्नु साँच्चै पर्छ अठोटमा गलेको छैन अझै
१०
स्वार्थको पोखरीमा पौडेर भित्रभित्रै हराइरहेछन्
आफ्नाका बालिनाली आफैँ बसेर चराइरहेछन्
सक्नुपर्छ हो हेर्न धेरै थोक देख्न पाईँदो रहेछ
मानुको गुन तिर्न अहिले झण्डा फह्राइरहेछन्