रुद्र बराल भारतको आसाममा रहेर नेपाली भाषा साहित्यको सेवामा समर्पित प्रतिभा हुन् । उनका विविध कृति प्रकाशन हुनका साथै उनले त्यहाँका नेपाली साहित्य र संञचार क्षेत्रको नेतृत्व गरिरहेका छन् । उनी असम नेपाली साहित्य सभाका सचिव हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा बरालको ‘रुख र जरा’ शीर्षकको कविता समेटिएको छ । यस कविताले रुखलाई आस्थाको विम्बका रूपमा चित्रण गरिएको छ । -सम्पा. |
हावा उल्टो चल्न थालेदेखि
यही रुखको जरालाई
मज्जाले समाएर बसेको छु
हल्लिनै नदिने गरी ।
चलोस्् जति चल्छ हावा
आओस् हुन्डरी आँधी–बेहरी
भाँचिन्छन् भाँच्चिऊन् एक–दुई बुढा हाँगा
झर्छन् झरून् दुई–चार सुख्खा पात
यो रुख ढल्नु हुँदैन
यो रुख मर्नु हुँदैन ।
कुनै ’इको’ कविता होइन यो
बरु यो ’इगो’ कविता होला
इको होस् कि इगो
रुख चाहिन्छ यहाँ
रुख छ र नै छाया छ
रुख छ र नै
हावा छ
रुख हुनाले
फूल फुल्छ
रुख हुनाले फल लाग्छ ।
रुख छ र त
भमराको गीत छ
माहुरीको सङ्गीत छ
चराहरूको बाझाबाझ छ
सिजनअनुसार पाक्ने फल छ
त्यही फलको निधारमा कोरिएको छ
रुख छ रत
हाम्रो जीवनको दैर्घताको मानचित्र छ
रुख भनेको घर हो
रुख एउटा संसार हो
रुख प्रेम–पिरतीको पार्क हो
कति कति प्रेमी प्रेमिकाले
सपना बुने
घरजम बसाए
सन्तान हुर्काए ।
रुख नभए
निसन्तान हुनेछ पृथ्वी
यो रुखले
तपाईँलाई पनि मानिस बनायो
तपाईं मान्ने कि नमान्ने ?
कुरा धेरै छन्
केही भन्न सकिने
केही बुझ्न सकिने
तर सबै कुरा गहन छ्न्
र त म एउटा सानो हावामा पनि झस्किन्छु
त्यो रुख ढल्यो कि चिन्तित हुन्छु
अनि त्यही जरालाई अँगालो हाल्छु ।
भाँचिन्छन्
भाँच्चिऊन् एक–दुई बुढा हाँगा
झर्छन् झरून् दुई–चार सुख्खा पात
यो रुख ढल्नु हुँदैन
रुख रहे
फेरि पलाउँछन् हाँगा मुना
फेरि गुँड लाउँछ्न् ढुकुरले ।