मुकुन्द शर्मा नेपाली कविता परम्परामा मुक्तकदेखि महाकाव्यसम्म सिर्जना गर्ने कवि प्रतिभा हुन् । उनका रचना साहित्यसागरका अघिल्ला शृङ्खलामा पनि समेटिइसकेका छन् । यहाँ उनको आत्मज्ञानको साँचो’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मान्छेको आत्मज्ञान कसरी खुल्छ भन्ने जिज्ञासाको जवाफलाई समेट्ने भावना अभिव्यक्त गरेको छ । -सम्पा. |
हामीमा अभिमान हुन्छ वयको सम्पत्तिको रूपको
कुर्सीको परिवारको स्वजनको पोशाकको सीपको
त्याग्नैपर्छ घमण्ड यी विषय हुन् उम्केर जाने भनी
स्थायी तत्त्व समात्नुपर्छ जसमा पाइन्छ सञ्जीवनी ।
फोस्रा धाक दिने सयौँ असुरको खेला यहाँ चल्दछ
त्यो टिक्तैन अनर्थका विषयमा भेला जहाँ चल्दछ
त्यस्तो दम्भ लिएर कुर्लिरहने बेकार हो जीवन
फर्कूँ दम्भ तजेर भित्र छ जहाँ अध्यात्मको स्पन्दन ।
बोलीले व्यवहारले र मनले निर्धक्क हेला दिई
प्राणीमा जुन पीर पार्छ ननिको हिंसालु बन्ने उही
हिंसाभाव हटाउँदै हृदयमा ल्याऊँ दया कोमल
पाऊँ सिर्जनमा म चिन्मय छटा धोएर कालो मल ।
होऊँ सज्जनभावमा हरघडी कर्तव्य आफ्नो चुनी
अर्कामा कटुता कि वा कुटिलता त्यागेर जैले पनि
फोस्रो धाक लगाउने कुजनको होला महत्ता किन
ल्याऊँ जीवनमा सधैँ सरलता स्वर्गीय सत्ता लिन ।
हाम्रा छन् महनीय पूर्वदिनका पक्का मनीषीहरू
शास्त्रज्ञान दिने सबैतिर हुने ती क्रान्तदर्शीहरू
त्यस्ताको पदचिह्नमा अघि बढूँ जाऊँ उतै केवल
त्यस्तै मार्ग हिँडी पुगिन्छ सहजै गन्तव्य मुक्तिस्थल ।
मेरो चित्त बनोस् पवित्र उसरी यो देह चोखो बनोस्
राम्रा कार्य गरूँ सबै तरहले यै एक धोको बनोस्
बोकी धूल विकार खार ननिका बेकार जाने कता ?
वाणीमा व्यवहारमा हृदयमा होस् सर्वथा शुद्धता ।
अन्तर्वृत्ति भयो कि अस्थिर कहाँ होला क्रिया सुस्थिर ?
होला अस्थिर चालले अगमको सोपान नै अस्थिर
आफ्ना कार्य गरूँ परन्तु मनले ताकूँ म सो चिन्मय
ल्याई सुस्थिरता म चिन्तन गरूँ चैतन्यभित्रै लय ।
मान्छे संयमशील बन्नुछ सदा सच्चा तपस्वी सरि
खाना ठीक भनाइ सन्तुलित होस् लेखाइ उस्तै गरी
मेरो स्वास्थ्य नितान्त सुन्दर बनोस् छाडा नहोस् जीवनी
आफै निग्रहमा रही जनमको उद्देश्य जानूँ अनि ।
हाम्रा इन्द्रिय छन् सँगै दशथरी यी बाहिरै डुल्दछन्
जे पायो त्यसमा प्रवाहित भई यो वृत्ति भड्काउँछन्
छोडी बाह्य प्रपञ्च इन्द्रिय गरून् एकान्त सम्मेलन
विस्तारै रमणीय साधन बनून् त्यो साध्य पैल्याउन ।
हामीले जब देहको चमकमा फोस्रो अहं पाल्दछौँ
भुल्छौँ वास्तव लक्ष्य यो जनमको गोडा वृथा चाल्दछौँ
आफैभित्र अहं छ चेतन कि वा आत्मा त्यही चिन्नु छ
छोडी बाहिरको अहं परमको यात्री भई हिँड्नु छ ।
पैलेका कति कर्म सञ्चित भए अज्ञातका कोषमा
चोला यो अहिले मिल्यो जब उही प्रारब्धको खेलमा
सोही कारण जन्म मृत्यु र जरा आए यहाँ दैनिक
यीभन्दा पर जानुपर्दछ जहाँ छन् भावना तात्विक ।
संसारी परिवार हुन् सब उही विश्वेशका सन्तति
हाम्रा भन्नु तसर्थ भूल हुन गो हेरौँ नमाती रती
पाएँ यो घरबार दौलत सबै आसक्ति छोडीकन
साक्षीभाव लिएर पालन गरूँ कर्तव्य सम्झीकन ।
कैले भोग्छु मिठो कुनै नियतिले कैले तितो खान्छु म
जस्तो मिल्दछ भोग्नुपर्छ अनि पो सन्तुष्टिमा जान्छु म
राखी नाकनिके प्रवृत्ति थुतुनो व्यर्थै कहाँ खोल्छु म ?
भोग्दै भित्र अगम्यको मधुरिमा आनन्दमा भुल्छु म ।
राखूँ अव्यभिचार भक्ति हरिमा मानूँ यही हो सुधा
यो संसार अचम्म सुन्दर सदा मानौँ उही पाउँदा
एकान्तस्थलमा कि वा विषयको आसक्तिदेखिन् पर
मेरो चिन्तन जानुपर्दछ जहाँ मिल्नेछ सर्वेश्वर ।
राम्रो भाग्य मिलेर मानव भएँ चोला छ यो दुर्लभ
आफ्नो उत्तम लक्ष्यको विषयमा चासो बढाऊँ अब
भोको मानिस डम्म हुन्छ जसरी मीठो महाभोगले
मेरो जीवन तृप्त हुन्छ उसरी यो ज्ञानको योगले ।