धर्मपोखरेल (पुरा नाम : धर्मप्रसाद पोखरेल, २०३१ वैशाख १७, तत्कालीन धुसेनी–४, हालको देउमाई नगरपालिका वडा नं. ४, इलाम सुपुत्र : धनमाया पोखरेल र नारायणप्रसाद पोखरेल) नेपाली भाषा साहित्यमा उच्च शिक्षा लिई साहित्य सेवामा समर्पित प्रतिभा हुन् । उनले हिमाद्रि साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादनका साथै चिचिला राष्ट्रिय मासिक बालपत्रिकाको प्रतिनिधि सम्पादक भएर साहित्य सञ्चारको काम पनि गरेका छन् । उनको पहिलो प्रकाशित कविता : हस्पिटलभित्र शीर्षकमा ‘आयाम पत्रिकामा (२०५५ चैत मा प्रकाशन भएको थियो । उनका सहलेखनमा नेपाली हिज्जे : स्वरूप र प्रयोग, अनिवार्य नेपाली कक्षा (११– १२), प्रवेशिका व्याकरण (भाग – १ र २), आधारभूत व्याकरण (भाग – १, २ र ३), प्रारम्भिक व्याकरण (भाग – १ र २), रमाइलो व्याकरण (भाग – १, २ र ३), नेपाली अभ्यास पुस्तक कक्षा १० जस्तम पाठ्य पुस्तकका साथै उद्दीपन ( २०७५) कवितासङ्ग्रह प्रकाशित छ । उनी छन्दमा राम्रा कविता लेख्ने कवि हुन् । प्रस्तुत शृङ्खलामा उनको हाँस्दैन राष्ट्र शीर्षकको कविता समेटिएको छ । यस कविताले राष्ट्रिय चेतनाको अभिव्यक्ति दिएको छ । -सम्पा. |
मन्त्री भए मुलुकका अति व्यङ्ग्यकार
टुक्का उखान मुखमा र छ राष्ट्र प्यार
यो कानले कति सुनोस् बरु चट्कला कि
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी
को हो धनी गरिब को रहँदैन जात
मिल्काउने छु गरिबी सब एकनास
भन्छन् तिनी जन भने अझ भट्कला कि
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी
धेरै भए अवधि वर्ष दुई लगाई
फाल्ने भए तुइन ती पुल हाल्नलाई
सुन्दै झरे नदनदी गललल्ल हाँसी
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी
सातै समुद्र अब ल्याउँछु राष्ट्र माझ
क्रीडा गरौँ सब चढौँ जलमा जहाज
देख्दै अचम्मित बनी मुटु पट्कला कि
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी
चट्टानको सुरुङ मार्ग पहाड फोरी
बन्दै छ, रेल अब गुड्दछ चीन जोडी
मेट्रो चढी सरसरी घुम राजधानी
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी
पक्रेर तेत्तिस किलो सुन एक रात
राख्दा अचम्मसँग पित्तल भो प्रभात
मस्तिष्कले बुझिसक्यो बरु सड्कला कि
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी
काण्डै छ वाइडबडी अनि निर्मलाको
होली र वाइनसँगै अझ केक खाको
शङ्का रहेछ प्रहरी सरकारमाथि
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी
हावा छ यो गगनमा बिजुली निकाल्न
फोहोर डङ्गुर छ यो बुझ ग्यास बाल्न
यो देशले चढिसक्यो सय खुट्किला ती
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी ।।
बोके त राष्ट्र शिरमा नगरे त घात
बन्ने छ स्वर्गसरि यो जब मिल्छ साथ
विश्वास घात झुटको छ सदैव खेती
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी