ड्रिम १०० कोरियामा बसोबास गर्ने प्यूठानबासी नेपालीहरूको साझा संस्था हो । यस संस्थाले नेपालको प्युठान जिल्लालाई कार्यक्षेत्र बनाएर विविध गतिविधि गर्दै आएको छ । यस संस्थाले पछिल्लो समय कोरोनाको समस्यामा केन्द्रित गरेर जिल्लाभित्रका बालबालिकाका बिच भर्चुअल कविता प्रतियोगिता गरायो । त्यस प्रतियोगितामा पुरस्कृत कविताहरूलाई साहित्यसागरको प्रस्तुत शृङ्खलामा समेटिएको छ।
प्रतीक्षा के.सी कक्षा दशमा पढ्ने छात्रा हुन् । उनी श्री उमामहेश्वरी माध्यमिक विद्यालय प्युठानमा अध्ययनरत छन् । उनी १०० ड्रिमको प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल भएकी थिइन् । उनलाई थप प्रगतिको कामनासहित यहाँ उनको ‘कोभिड महामारी’ शीर्षकको कविता समेटिएको छ । -सम्पा.
|
कोभिड–१९ नाम यसको रे
कोरोना भाइरस आयो रे
चिनबाट जन्म भई धेरै मानिस खायो रे
कहिले हट्छ पनि थाहा छैन रे
कसरी निको हुन्छ पनि थाहा छैन रे ।
कोभिड–१९ भन्छन्
वैज्ञानिक जमाना भन्छन्
कोभिड के हो कुनै वैज्ञानिकलाई अत्तोपत्तो छैन
काम सबै ठप्प छ
हात मुख जोड्न कठिन छ
भन्न थाले अब नखाइ ब्रत बस्नु पर्छ ।
कोभिड–१९ कस्तो आयो
ठुलो महामारी बनेर छायो
हैरान पार्याे स्कुल नखुलेर
अब खुल्ला कि भन्यो खुल्दैन
मार्न लागे दिन्न सारी सारी
ज्यान कसरी बचाउने हो
ज्ञान कसरी बढाउने हो ?
सरकार भन्छ स्कुल बन्द
वैदेशिक नाका खुलाउ
वैकल्पिक विधि चलाऊ
अनलाइन क्लासमा विद्यार्थीलाई भुलाऊ
गरिब देशका गरिब जनता छैन मोबाइल नेट
कसरी पढ्नु अनलाइन क्लास ए सरकार गाउँ हेर ।
खुलेका छन् अन्य क्षेत्र व्यापार चलेकै छ
हाम्रो स्कुल मात्र किन सधैँभरि बन्द
नपढेरै पास हुन्छौ पढ्नु किन पर्यो भन्छन्
बुद्धि भयो मन्द हजुर
स्कुल हुँदा बन्द ।
बन्नु थियो
एकदिन असल मानिस
बन्नु थियो
एक विद्वान् मान्छे
सपना पुरा हुन्छ कि हुँदैन
पक्कै पूरा होला
कोभिड–१९ बाट बाँचे ।
टुङ्गो छैन पढाइको
न टुङ्गो छ परीक्षाको
होटल रेस्टुरेन्ट चलेको छ
यातायात नि चल्छ
तेलविनाको दियो
आफै खै कसरी जल्छ ?
तीन साल भयो यो कोरोना
आउँछ फर्की फर्की
इष्टमित्र साथीभाइ हिँड्छन् तर्की
काले गोरे रिठ्ठे माइला
कोभिडले लग्यो
विश्वभरि अनौठाका
हाहाकार पार्यो ।
अरू के हो थाहा छैन
खोसो सबको चैन
शिक्षा क्षेत्र डामाडोल भो
हाम्रो विचल्ली भो ।