ड्रिम १०० कोरियामा बसोबास गर्ने प्यूठानबासी नेपालीहरूको साझा संस्था हो । यस संस्थाले नेपालको प्युठान जिल्लालाई कार्यक्षेत्र बनाएर विविध गतिविधि गर्दै आएको छ । यस संस्थाले पछिल्लो समय कोरोनाको समस्यामा केन्द्रित गरेर जिल्लाभित्रका बालबालिकाका बिच भर्चुअल कविता प्रतियोगिता गरायो । त्यस प्रतियोगितामा पुरस्कृत कविताहरूलाई साहित्यसागरको प्रस्तुत शृङ्खलामा समेटिएको छ।
रन्जना पौडेल कक्षा ११ मा अध्ययन रत छात्रा हुन् । उनी स्वर्गद्वारी नगरपालिका–५, सारी, प्यूठानकी पौडेल परिवारकी सुपुत्री हुन् । हाल उनी श्री उमामहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छन् । यहाँ उनको प्रतियोगितामा प्रस्तुत र प्रथम स्थान प्राप्त गर्न सफल कोरोनाको चपेटो कविता समेटिएको छ । यस कविताले कोरोनाका कारण ग्रामीण क्षेत्रका विद्यार्थीमा परेको मर्कालाई समेटेको छ । -सम्पा. |
कोरोना तिमी आएर हाम्रो पढाइ रोकियो
टुहुरा बने बालक धेरै समस्या थपियो ।
सहरतिर नेटले पढे हामीले पाएनौ
भए नि इच्छा शिक्षाको गीत हामीले गाएनौँ ।
पोहोरदेखि किताव कस्तो देख्न नै पाएनौँ
निष्ठुरी रैछौ निर्दयी रै’छौ हामीलाई बुझेनौ ।
शिक्षाको जग निर्बल भयो भबिष्य भासियो
नेटले पढ्न आर्थिक जोहो बुबालाई साह्रो भो ।
कोरोना खोप सहरतिर हामीले देखेनौँ
राहत कुन चराको नाम हामीले भेटेनौँ ।
देशको बिकास कसरी हुन्छ ? शिक्षा नै नभए
खस्कियो शिक्षा, बन्दैन देश शिक्षा नै नभए ।
बजार खुल्ला, होटल खुल्ला, स्कुल बन्दछ
स्कुल थुनी होटल खोली के देश बन्दछ ?
बोर्डिङ्ग पढ्ने साथीले भन्छन् पढ्दैछौँ जुममा
शिक्षक कहाँ हामी छौँ कहाँ, काँ नेट गाउँमा ?
गाउँका दुःख गाउँमै हुन्छन् सहर सुन्दैन
जनका दुःख जनमै हुन्छन् देशले सुन्दैन ।