निर्मोही व्यास नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । पछिल्लो समय उनको कलम एकपछि अर्को कविता एवम् काव्यकृतिका साथ सार्वजनिक भइरहेको छ । साहित्यसागरका अघिल्ला शृङ्खलामा उनको परिचय समेटिइसकेकाले यहाँ सारभूत परिचयसहित ‘सूर्योदय–सूर्यास्त’ शीर्षकको कविता समेटिएको छ । यस कविताले आफूअनुसारको हेराइ वा बुझाइ हुने दार्शनिक चिन्तनलाई उच्च कविता कलासहित प्रस्तुत गरेको छ । -सम्पा. |
१
तिमी भन्छौ, हुनेगर्छ सूर्यास्त दिनका दिन
‘सूर्योदय हुनेगर्छ दिनका दिन’ भन्छु म
हाम्रो हेराइमा मित्र ! ज्यादै ठूलो छ अन्तर
निराशाको र आशाको तुलना हुनसक्छ र !
२
कुरूप यो जगत् लाग्छ नकारात्मक दृष्टिमा
सुरूप किन्तु यै लाग्छ सकारात्मक दृष्टिमा
दिएको छ दुई आँखा हेर्नकै निम्ति दैवले
मर्जी आफ्नै त हो हेर्ने कसरी कुन दृष्टिले !
३
हुँदैनन् कहिल्यै ताप–प्रभाहीन प्रभाकर
बर्साई चाँदनी सौम्य न त थाक्छन् सुधाकर
सुवास छर्न छाड्दैन कहिल्यै कुसुमाकर
धर्ती–बादल छाड्दैनन् पाल्न विश्व चराचर
४
जहाँ जहाँ फुलून् फूल छन् सबै मात्र सुन्दर
जति हेरौँ, अझै हेरौँ लाग्छ सृष्टि मनोहर
दुष्ट बाँदरका हूल भत्काऊन् जति नै घर
पुनर्निमाण छाड्दैनन् चराले चञ्चुका भर
५
शिक्षालय छँदैछैन जगत्भन्दा अरू कुनै
अध्यापक छँदैछैन जिन्दगीझैँ अरू कुनै
पढेर सकिने हैन खर्ची आयुष्यका पल
झिकेर जसरी कैल्यै सिध्धिन्न सिन्धुको जल !