भोजकुमार सुवेदी (सन्दकपुर ३ इलाम, सुपुत्र : टंककुमार सुवेदी र दुर्गादेवी सुवेदी) इलामका उल्लेख्य प्रतिभा हुन् । नेपाली षाषा साहित्यमा एम् .ए र भषा शिक्षणमा बी.एड गरी शिक्षण पेसामा समर्पित सुवेदीले वक्तृत्व र कविता प्रतियोगितामा विभिन्न पुरस्कार जितेका छन् । उनीसँग राम्रो उद्घोषण एवम् भषण कला र प्रशिक्षण सामथ्र्य पनि छ । पूर्वबाट सुरु भएको छन्द जागरण अभियानका अभियन्ता एवम् मेची पद्यमाला (२०६९) का सहयोगी सम्पादक सुवेदीले छुट्टै कृति प्रकाशन नगरे पनि विभिन्न पत्रपत्रिकामा रचनाहरू प्रकाशन गरेका छन् । उनका आलोक बालगीतिएल्बम र प्राकृत पोखरा (डिजिटल अडियो) वाचन जस्ता एल्बम प्रकाशित छन् । हाल उनी सैनिक आवासीय महाविद्यालय सल्लाघारी,भक्तपुरमा कार्यरत छन् । प्रस्तुत सङ्कलनमा उनको मेरा कविताहरू’ शीर्षकको कविता समेटिएको छ । यस कविताले आफ्ना सिर्जनामा मातृभूमिको प्रभाव रहने पक्ष उजागर गरिएको छ ।
-सम्पा. |
हर हर बिहानी
भालेको डाक डाकमा
सन्दकपुरको शिरैमा झुल्किने घामका किरणसँगै
हाँगेथाममा चिर्बिराउँने चराहरूझैँ
ब्यूँझिन्छन् मेरा कविताहरू ।
नसा नसामा तातो र रातो रगत बहाएर
छातीभरि नवीन उत्साह धड्काएर
छिन्टापुमा फुलेका राताम्मे गुराँसहरूझैँ
ओठभरि वैँसालु मुस्कान छरेर
जौबारीको डाँडै डाँडा
प्रत्येक घडी, घडीहरूमा
थर्मोमिटरको पारोसँग सँगै
क्रमश: चढिरहेका हुन्छन् मेरा कविताहरू ।
एउटा अविरल यात्रा
मध्यान्नको भुइँ फुट्ने गर्मी
तल सोमबारे बेँसी बगरमा
अतालिएका पैतालाहरूझैँ
कतै साहाराको सन्नाठामा
छाँदिएका उँटहरू जस्तैजस्तै
क्याक्टस जिन्दगी
जिइरहेका हुन्छन् मेरा कविताहरू ।
अपराह्नको पहेँलो घाम !
घामसँगै पौठेजोरी खेल्दै जीवनभरि
सपनाको माईपोखरी सजाउँदै सजाउँदै सिमसारमा
एउटा आस्थाको पर्खाल उभ्याउँने
एउटा विश्वासको जग हाल्ने
डम्बरसिंहको अधुरो हिम्मतझैँ
क्रमश : क्षीण क्षीण बनेर
गोरेटाहरू सुम्सुम्याउँदै
कौरवहरूको पासामा अल्झिएर
तर्सिएका उल्लुहरूझैँ
जङ्गल पसिरहेका हुन्छन् मेरा कविताहरू
अनि
गोधुलीको श्यामल घुम्टोसँगै
उही मुखिया बाको देशमा
हठात् बलिदान चढेका अबोध सहिदहरू
विस्मृतिको पर्दामा झुल्किएझैँ ,
देउथलमा भक्ति थापा बले जस्तै जस्तै
क्रमश: मैन बत्तीको झोका बनेर
एउटा दरिलो आँट भरेर
शीतका प्रत्येक थोपा थोपाहरूमा
थर्मोमिटरको पारोसँगै
पल पल खसिरहेका हुन्छन् मेरा कविताहरू
पल पल खसिरहेका हुन्छन् मेरा कविताहरू ।