डिल्लीराज अर्याल विशिष्ट कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको मदनपोखरा शीर्षकको कविता समेटिएको छ । यस कविताले अर्यालको जन्मभूमिको विम्बात्मक प्रस्तुति गरेको छ । -सम्पा. |
फुटिसके हुनन् मूल भल्भली
गरिरहे हुनन् खूब खल्बली
हुन पुग्यो सबै भेक सुन्दर
नजरमा पर्यो फेरि त्यै घर ।
भइसके हरा खेतका गह्रा !
नद, नदी भए साफ सुग्घर !
अब पहेँलिए हुन् सबै मकै
नजरमा सबै आउँछन् सधैै
जल तलैतलै गाउँ माथि छन्
घर उचाइमै मात्र बन्दछन्
त्रसित पर्दथ्यो के त्यसै हुन
जति बढोस् न के सक्दथ्यो छुन ?
नजर देख्छ यो कल्पना गरी
मन रमाउँदै सोच्छ यो घरि
कति रमाइलो लाग्छ त्यो धरा
मदनपोखरा हुन्छ झन् हरा ।