भूपी शेरचन नेपाली साहित्यको आधुनिक गद्यकविता परम्परामा आधार स्तम्भ मानिन्छन् । उनका गीतिरचना पनि त्यत्तिकै सशक्त छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा नयाँवर्ष २०७९ को सन्दर्भ पारेर उनको नयाँ वर्ष शीर्षकको कविता प्रस्तुत गरिएको छ । यस कविताले नयाँ वर्ष आए पनि उत्साह बोकेर नआएको भाव व्यक्त गरेका छन् । वर्षौ अगाडिको यो कविताको भावना र सन्देश आज पनि त्यत्तिकै सान्दर्भिक छ ।
-सम्पा. |
नयाँ सरुवा भई आएको हुलाके झैँ
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिंडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीका लेङ्गुर हल्लिरहेछ उसको
पदचापले
ट्वाक‘‘‘.ट्वाक‘‘‘.ट्वाक‘‘‘.ट्वाक‘‘
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो
अनुहार पारेर
बेमौसमको बर्षत
बेला–कुबेलाको बादलको गड्याङ–गुडुङ
आकाशलाई पखालो लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ,
सहनाईको बेसुरा धुनिबाट निस्किरहेका छने
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरू
मध्याह्न दिन
चर्को घाम
सारा रुखहरूले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एक चोटि
नयाँ वर्ष आएको छ
फेरि एक चोटि
भित्ताको नयाँ क्यलेन्डरमा
आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ
फेरि एक चोटि
सँगी सागीहरूको सूची बनाउनु छ
फेरी एक चोटि
भयानक बमहरू बोकेर, उडिरहेको हवाइजहाज
र रकेटहरूमुनि बसेर
लेख्नु छ प्रियजनहरूको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र ।