भुवनहरि सिग्देल नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘देश बन्न द्यौ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले सूक्तिमय शैलीमा गहन भाव व्यक्त गरेको छ । यस कविताको मूल उद्देश्य राष्ट्रिय चेतनाको अभिव्यक्ति नै हो । -सम्पा. |
जिन्दगी पाठशाला हो देश घोकेर पढ्न द्यौ
र मेरै जिन्दगी लड्छु युद्ध मानेर लड्न द्यौ
करेसामा लुकामारी साथी रोजेर खेल्न द्यौ
म मेरै कविता लेख्छु शब्द छानेर लेख्न द्यौ ।
जिन्दगीको परीक्षामा आफैँ प्रश्न र उत्तर
म मूल्याङ्गनकर्ता हूँ आफ्नै जीवनको स्वर
देश खोज्नेहरू खोजून् देश बेचेर एउटा
महाप्रसादमा बाँचून् ढुङ्को मानेर देउता ।
सिर्जना जसले गर्छ देश आफै बनाउँछ
राजा खोज्दछ आस्थाको चाहे आफैँ बनाउँछ
हारेको छैन हार्दैन कहिल्यै पहरासित
जसरी वृक्ष हार्दैनन् मसिना लहरासित ।
मुखुन्डो हैन यो मेरो छद्मभेषी म होइन
सलामी र मलामीको वस्तु सर्जक होइन
माथ सगरमाथाको जसले बोक्न सक्दछ
उसले गण्डकीलाई सजिलै रोक्न सक्दछ ।
सालनाल जहाँ गाडेँ त्यो माटो देश भन्न द्यौ
मानचित्र मभित्रै छ यही नेपाल चिन्न द्यौ
आँधीको सामना गर्ने छाती पत्थरको भए
कविता मर्न जान्दैन स्वाभिमान मसी भए ।