भूवनहरि सिग्देल नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ उनको स्तम्भमा देवकोटा शीर्षकको कविता समेटिएको छ । यस कविताले महाकवि देवको कृतिस्तम्भलाई प्रस्तुत गरिएको छ । यस कविताले व्यक्तिको स्तम्भ अरूले बनाएर नबन्ने सूर्ण स्वयम्को तापले तातो र प्रकाशमय भए जस्तै देवकोटा पनि आफ्नै प्रतिभाका तापरापले उठेका व्यक्तित्व हुन् भन्ने कुरालाई देखाइएको छ ।
-सम्पा. |
दिमागी चमत्कारका कारखाना
प्रसादी दिइन् शारदाले खजाना
धनी वंशको अंशको के महत्ता ?
कता तौलने देवकोटा र सत्ता ?
तिलस्मी कथाको कुनै पात्र जस्तो
मठाधीश साहित्यको मात्र जस्तो
शुभारम्भ जस्तो कि गन्तव्य जस्तो
विनाभावको भाव उच्छाल जस्तो ।
अरूले बनाएर बन्दैन स्तम्भ
स्वयं ताप हो राप हो सूर्य विम्ब
अगेनो खरानी कि छोरा र नाति
जले कालले तान्न थाल्दा खलाँती ।
चले भूप मन्त्री धनी साधुसन्त
बिलाए पुजारी अधोरी महन्त
ढल्यो राजनीति दबे राजनेता
शिलालेख जस्ता अढे देवकोटा ।
प्रशंसा गरूँ शब्द भेटिन्न भन्न
भरूँ सूत्रमा अङ्ग पुग्दैन गन्न
नमस्कार यी हात जोरेर दोटा
तिमी बिम्ब हौ राष्ट्रका देवकोटा ।
छन्द : भुजङ्कप्रयात(१)