गोविन्दराज विनोदी नेपाली कविता क्षेत्रमा मुक्तकदेखि महाकाव्यसम्म सुपरितित प्रतिभा हुन् । उनको कलम प्राय कविताका सबै उपविधामा चलेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा विनोदीको आत्मानुभव शीर्षकको कविता समेटिएको छ । यस कविताले जीवनअनुभवका बहुमुखी तरङ्गलाई समेटेको छ । -सम्पादक |
हाँसो छ थोरै र खुशी छ थोरै
छ दुःख यो जीवनभित्र धेरै !
अनेक आशा-लहराहरू छन्
सयौँ तृषाका छहराहरू छन्
जिजीविषाका सँगमा उठेका
छन् स्वप्नका तारहरू टुटेका
ताक्दा मुढो यो “मनुवा-बरा”ले
सधैँ घुँडो ताक्दछ बन्चराले
हालेर सुत्दा सपना सिरानी
छन् बिम्झिँदा भङ्ग हुने कहानी
छ ओठमा केबल हर्ष यस्तो-
त्यो कर्कलाको जलबिन्दुजस्तो
हल्ल्यो भने पात रहन्न पानी
सन्त्रासमै बित्दछ जिन्दगानी
विश्वासको फुट्छ घडा र दुख्छ
वाणी कठै ! बिझ्छ कडा र दुख्छ
सम्बन्ध काटिन्छ र दुःख हुन्छ
सङ्कल्प भाँचिन्छ र दुःख हुन्छ
पीडा दिँदै नाच्दछ भोक कैले
बाधा दिँदै हाँस्तछ रोग कैले
अभावले कण्टक छर्छ कैले
विडम्बनाले विष भर्छ कैले
कैले दिलासा चुँडिएर दुख्तै
यो चित्त कैले कुँडिएर दुख्तै
आधा घडातुल्य छचल्किएर
बाँच्दो छ मान्छे सुख कल्पिएर
संयोगका सुन्दर याम थोरै
वियोगका छन् परिणाम धेरै