दुष्यन्त भट्टराई प्रवासमा रहेर नेपाली साहित्यको सेवा गरिरहेका प्रतिभा हुन् । उनले शास्त्रीय लयढाँचामा रहेर विभिन्न छन्दमा सुललित कविता रचना गर्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको भुजङ्गप्रयात छन्दमा संरचित जिन्दगी’ शीर्षकको कविता समेटिएको छ । सम्पा |
कुरा जिन्दगीको कहाँबाट थालूँ
म छोपूँ मभित्रै कि फुत्तै निकालूँ
म दोधारमा पर्न लागेछु साथी
नलेखूँ कि लेखूँ म विश्वास राखी ॥१॥
म हेर्दैछु बाटो कता भाग्छ भाग्छ
मलाई यतै फर्कियोस् मात्र लाग्छ
अनेकौँ अनेकौँ नयाँ देख्छु बाटा
कतै हुन्छ नाफा कतै हुन्छ घाटा ॥२॥
म बुझ्दैछु यो जिन्दगी मार्गलाई
कतै दु:ख बाधा कतै छन् हँसाइ
कतै मित्र सद्भावनाका विचार
कतै शत्रु दुर्भावनाका विकार ॥३॥
म रोजेर सद्भावना मात्र राखूँ
निकालेर दुर्भावना मात्र फालूँ
नहोस् चित्तमा एक पित्को गुनासो
म बाडूँ सबैमा खुसीसाथ हाँसो ॥४॥
म बच्चा बनूँ माझ बच्चाहरूको
म बूढो बनूँ माझ बूढाहरूको
युवामा थपूँ जोस उत्साह उर्जा
बनूँ देशका जिन्दगी पाटपुर्जा ॥५॥
म मेची बनूँ देशको गर्न रक्षा
म काली बनूँ देशको गर्न रक्षा
म कोसी बनूँ गण्डकीझैँ बनूँ म
म जन्मूँ यही देशमा जन्म-जन्म ॥६॥
म बाँचूँ नबाँचूँ सधैँ देश बाँचोस्
म हाँसूँ नहाँसूँ सधैँ देश हाँसोस्
म बाँचूँ यहाँ मात्र यो देश निम्ति
म गाँसूँ नयाँ प्रीत यो देश निम्ति ॥७॥