प्रतिभा पौडेल सिर्जना र समीक्षा दुवै क्षेत्रमा सक्रिय युवा प्रतिभा हुन् । उनको जन्म पिता गंगाप्रसाद पौडेल र माता छायादेवी पौडेलकी सुपुत्रीका रूपमा २०३८ सालमा इलामममा भएको हो । मेची पद्यमाला (२०५९) मा शास्त्रीय छन्दको कविता प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएकी पौडेलका इलामे चेलीका रचनाहरू (२०५९ संयुक्त कवितासंग्रह), गङ्गा (२०६९) खण्डकाव्य, झुल्के घाम र तृष्णा (२०७३) कवितासङ्ग्रह, अक्षरमा मेची मूर्छन्ना (२०७६) समीक्षाका साथै पूर्वाञ्चलीय नारीस्रष्टा कोश (२०७७) जस्ता कृतिहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको राष्ट्रकविको सम्झना शीर्षककको कविता समेटिएको छ । यस कविताले माधव घिमिरेको कृतित्व र व्यक्तित्वलाई मूल विषयवस्तु र विम्ब पनि बनाएको छ ।
सम्पा. |
तिम्रा स्वर्णिम गीतभित्र कलिला बाला रमाए कति
तिम्रा सार्थक शब्दको मधुरिमा भित्रै नुहाए कति
जन्मी अक्षरको विशाल घरमा त्यै शब्द संसारमा
काटेछौ सय वर्ष आज तनले बाँची युगौं काव्यमा ।
मैले पढ्न कहाँ सकेँ र कविको गौरी नरोइकन
सम्झी शान्ति र कान्तिको विरह त्यो चर्कन्छ छाती मन
माया धेर लगाउँदै हृदयमा गौरी गइन् स्वर्गमा
लेख्छन् माधव आँशुका कलमले तड्पेर एकान्तमा ।
तिम्रा प्रेमिल आँसुका सफरमा जन्मेर गौरी गइन्
तिम्रो लेखन उच्च पार्न गतिलो टेको लगाई गइन्
नेपाली मनभित्र राष्ट्र महिमा साँचेर गौरी गइन्
तिम्रो सार्थक लेखनीबिच सधैं बाँचेर गौरी रहिन् ।
गौरी माधवकी र यो जगतकी साँच्चै भरोसा भइन्
चोला उठ्छ त देहको हृदयकी गौरी नमर्ने भइन्
तिम्रै चिन्तन साधना सुपथ त्यो पाऊँ म पछ्याउन
कुँद्दै शील्प सुधा पिएर त्यसमै पाऊँ म सुस्ताउँन ।
प्यारीको कहिले छ शोक,कहिले यो राष्ट्रको चिन्तन
तिम्रा सुन्दर शब्दका लहरमा अल्झन्छ हाम्रो मन
माटोमा मुटुमा सफा हृदयको झंकार पोख्दै गयौ
यौटा गौरबपूर्ण राष्ट्रकवि भै साहित्यमा चम्कियौ ।।
तिम्रो भौतिक देहले थकित भै यात्रा बिसाए पनि
भाषामा अनि काव्यमा अमर छौ चोला उठए पनि
तिम्रो बास छ लाग्छ नित्य किन हो यै देशको गर्भमा
हे प्यारा कवि पाउँला हृदयमा तिम्रो मिठो स्पर्श म ।।
इलाम ।