खगेन्द्र दाहाल युवा पुस्ताका कवि प्रतिभा हुन् । उनको कलम नेपाली कविता र गजल विधामा चलिरहेको छ । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको हुँदा यहाँ सारभूत परिचयसहित उनको शीर्षकको कविता समेटिएको छ । यस कविताले सर्जक मनको उजागर गरेको छ ।
सम्पा. |
(अनुष्टुप छन्द)
सर्जक हुँ सधैँ नौला, काव्य आख्यान लेख्दछु
साहित्यको बगैँचामा, हजार फूल देख्दछु
टिपेर फूलको थुङ्गा, शिरमाथि लगाउँछु
सरस्वती पुजी नित्य, धुप अर्घ चढाउँछु ।
१
दिलमा चोट लागेमा, लेखेर दर्द भुल्दछु
चलेमा दिलमा आँधी, कल्पेर वेग थुन्दछु
नातेदार सबै ठान्छु, कोही पराइ ठान्दिनँ
हेपेर म कसैलाई, वचनवाण हान्दिनँ ।
२
अन्यायको जरो काट्छु, न्यायको बीउ छर्दछु
बगाइ पसिना धारा, बाँझो जमिन खन्दछु
अरूको वेदना आफ्नै, वेदनाझैँ म ठान्दछु
कवि तथा कलाकार, राष्ट्रका रत्न मान्दछु ।
३
लेख्दा मिल्दछ सन्तुष्टि, लेखेर म अघाउँछु
सुन्दा मिल्दछ सन्तुष्टि, सुनेर म अघाउँछु
पढ्दा मिल्दछ सन्तुष्टि, पढेर म अघाउँछु
हेर्दा मिल्दछ सन्तुष्टि, हेरेर म अघाउँछु ।
४
औषधि हो सुसाहित्य, अन्नत रोग हर्दछ
सुवास लाख मान्छेमा, छरेर मख्ख पार्दछ
सिँढी यो हो चुली चढ्ने, शिखरमा पुर्याउँछ
मित्रताको कडी हो यो, मैत्रीभाव बढाउँछ ।
५
रतुवामाई न. पा.-६, सौँठा, मोरङ