डा. विष्णुविभु घिमिरे विष्णुविभु घिमिरे नेपाली साहित्यका सिर्जना, संगठन र समीक्षाका बहुमुखी क्षेत्रबाट समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति घिमिरेको एउटा कविता प्रस्तुत शृङ्खलाको पहिलो कविताका रूपमा प्रस्तुत गरिएको छ । ‘राम्रो भएर के गर्नु’ शीर्षकको प्रस्तुत कविताले आन्तरिक शुद्धताको पक्षपोषण गरेको छ ।
-सम्पा |
आँखा राम्रा भएर मात्र
के गर्नु ?
जब ती आँखाले
कसैको पीडामा आशु रसाउँदैन भने
ओठ सुन्दर भएर मात्र
के गर्नु ?
जब ती ओठले
अरूका खुशीमा आनन्द मुस्कुराउँदैन भने
सलक्क मिलेको नाक भए र मात्र
के गर्नु ?
जब त्यो नाकले
आत्मियताको वासना थाहा पाउन सक्तैन भने
मुटु मात्र भएर
के गर्नु ?
जब त्यो मुटु
पल पल आफ्नै स्वार्थ मात्र ढुकढुकाउँछ भने
फोक्सो मात्र भएर
के गर्नु ?
जब त्यो फोक्सो
आफ्नै तृष्णा र मायामा मात्रै
श्वास प्रश्वास भइरहन्छ भने
मन मात्र भएर
के गर्नु ?
जब त्यो मन
नदी सुकेपछिको वगर जस्तो छ भने
आँशु बेकार छ
मुस्कान बेकार छ
यो जीवन बेकार छ
मान्छेका नाउँमा मान्छे बाँच्नु बेकार छ ।