देवकुमारी न्यौपाने कविता र नाट्य विधामा कलम चलाउने प्रतिभा हुन् । उनको कलम दुवै विधामा निकै सशक्तताका साथ अगाडि बढिरहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा आगो शीर्षकको कविता समेटिएिको छ । यस कविताले आगोका विम्बबाट रिस, असन्तुष्टि र अन्य विविध पक्षलाई समेटेको छ । सम्पा. |
वन डढाउने पनि आगो
मन डढाउने पनि आगो
वनको आगो देखिन्छ
देखिंदैन मनको आगो
नदेखिने आगोले
देखिने आगोले भन्दा
झन् धेरै पोल्छ,
झन् धेरै डढाउँछ
आगो धेरै भएपछि
तातो धेरै भएपछि
आगो उम्लिन्छ भक्भकी
छातीभित्र उम्लिएको
तातो आगोको झोल
ज्वालामुखीको लावा झैं
विष्फोट भएर एकैचोटि
पोखिन खोज्छ मुखबाट
तर ,
ओठ सम्म आएर पनि
बाहिर निस्किन सक्दैन आगो
चट्टान भन्दा पनि
कठोर भैदिन्छन् ओठहरू
थुनी दिन्छन् आगोको भेल र
फर्किन बाध्य हुन्छ विद्रोही आगो
उही घाँटीको बाटो भएर
फर्किन्छ ऊ छातीभित्रै
अनि विवश आगो
आँखाको बाटो भएर
बाहिरिन्छ चुपचाप !