- कविता
मणि नेपाली पनेरू नेपाली साहित्यका विकासमा विविध ढङ्गले समर्पित प्रतिभा हुन् । उनको परिचय र रचनाहरू साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिँदै आएका छन् । यहाँ उनको ‘परीक्षा’ शीर्षकको कविता समेटिएको छ । यस कविताले जीवनलाई परीक्षाका विम्बमा हेरेको छ ।
-सम्पा. |
परीक्षालय यो विश्व विशाल
कोही बन्छन्
कोही बिग्रन्छन्
शीतका थोपा झैँ
पानीका फोका झैँ
हुन्छन् बेकार, हुन्छन् वेहाल
परीक्षा दिइरहेछन् हरपल ।
परीक्षा विशाल पर्खाल हो
परीक्षा स्वयम् नदीको भेल हो
जाने वायुपङ्खी परीक्षा
उडेर एक ठाउँबाट अर्को ठाउँ पुगिने
नजाने जेल नेल हो परीक्षा
जहाँको तही थेचारिने ।
को छैन परीक्षाभित्र
परीक्षा महाभारत हो
परीक्षा विश्वयुद्ध हो
परीक्षा सैतान हो
परीक्षा रण क्षेत्र हो,
परीक्षा रण मैदान हो
कसैको जित उत्सव हो
कसैको हार स्वीकार हो ।
परीक्षा पागलपन हो
परीक्षा नै रनक हो
परीक्षा नै दनक हो
परीक्षा गान्धी हो,
परीक्षा बुद्ध हो
ययु ख्रिस्ट हो परीक्षा
कसैले पूजिरहेछ
कसैले पुछिरहेछ ।
मिठो होस् वा नमिठो होस्
परीक्षा जीवनको पोषण हो
र्याङ ठ्याङ नमिले पनि
परीक्षा वौद्धिक शोषण हो
फेरि कसैको कुपोषण हो ।
परीक्षा आगो हो
परीक्षाले न्यानो पनि दिन्छ
परीक्षाले जलाउन पनि सक्छ
परीक्षा सरोवर हो,
धुन्छ पखाल्छ
डुबाउन पनि सक्छ
परीक्षा हावाहुरी हो
परीक्षाले उडाउँछ
परीक्षाले पछार्छ ।
परीक्षा बादल हो
यो उड्छ आफै
यो वर्षन्छ आफै
परीक्षा सूर्य चन्द्र हो
उदाउँछ उज्यालो दिन्छ
अस्ताउँछ अन्धकारमा फसाउँछ ।
परीक्षा दलदल हो,
जिताउँछ हराउँछ
डुबाउँछ उठाउँछ
कहिले घाम परीक्षा
कहिले छाया परीक्षा
परीक्षा जीवनको सार
शुभकामना मित्र हो !
हर परीक्षा लगाऊ पार !