साँझ कसैलाई भोक थिएन । दिनभर आगो खाइएको थियो, आगै पिइएको थियो । बडासाहेब अझै उस्तै आहत भइरहेका थिए । कतिखेर, कतिखेर त्यही आहतकुण्डमा क्रोधाग्नि दन्काइरहेका थिए । धनहजुरीको कोठाभित्र, धनहजुरीकै पलङको छेउमा आफ्नो शिर राखेर भुईंमा बसेका थिए उनी ।
गजेन्द्रबाबु, उनकी श्रीमती, तेजेन्द्रबाबु र मालिक पनि छेउछाउमा थकित भएर बसिरहेका थिए । म ढोकाबाहिर उभिएको थिएँ । छड्के आँखाले भित्र हेरिरहेको थिएँ । बडासाहेब कतिबेला धनहजुरीलाई सम्झेर ’मेरी छोरी कहाँ गयौ नि ?’ भन्दै रुन्थे, कतिखेर, ’मेरो इज्जत फाली तेल्ले, त्यो मरी आजदेखि मेरा लागि !’ भन्दै दाह्रा किट्थे ।
तेजेन्द्रबाबु बडासाहेबको सबैभन्दा छेउमा बसेका थिए । उनले आफ्नो पितालाई सम्झाउने हर तरहले कोसिस गरिरहेका थिए । उनको आफ्नै अनुहारमा भने क्रोध थियो । त्यो क्रोध कोसँग थियो ? त्यही तत्त्वसँग, जसले उनको पिताजीलाई रुवाउँदै छ त्यतिखेर । को हो त्यो तत्त्व ? यहीँ त गलत हुन्छ मान्छे अक्सर ।
‘को हो ?’ होइन ‘के हो ?’ हो अहम् कुरो । यही सानो प्रश्न वाक्यले समग्र परिस्थितिलाई आमूल परिवर्तन गरिदिन सक्छ तर यहीँ फेल खान्छ मान्छे । तेजेन्द्र बाबुले आफैँलाई सोधेको त्यो प्रश्न नै गलत थियो । त्यसले सही जवाफ कसरी पैल्याओस् ।
तेजेन्द्रबाबुको जस्तो क्रोध गजेन्द्रबाबुको अनुहारमा भने थिएन । उनी स्वभावैले गम्भीर थिए, त्यो दिनको गम्भीरता झनै फरक किसिमको थियो । मालिकको ध्यान गजेन्द्रबाबुको अनुहारले खिचिरहेको थियो । गजेन्द्र बाबुका आँखाहरू फूलेर रात्तिएका थिएनन् ती तिखारिएर धारिला भएका थिए । मौन रहेरै बडासाहेबलाई हेरिरहेका थिए उनी तर उनको घाँटीको किलकिलेमा सुस्त कम्पन छुटिरहेको थियो । मानौँ उनीभित्रको शब्दवायु बाहिर आउन खोजिरहेछ र किलकिलेको ढोका ढक्ढक्याइरहेछ । गजेन्द्र बाबुको आवरणभित्र मानौँ कुनै आयुध तयारी हालतमा छ । मालिकलाई त्यस्तो लाग्यो । मालिकको मनको भित्तामा छटपटीको माकुराले कुनै अज्ञात भयको जालो बुन्न थाल्यो ।
रातको आठ बजिसकेको थियो । धनहजुरीको कोठा केही समय मौन भयो । केहीबेरपछि त्यो मौनतालाई तोड्दै गजेन्द्रबाबु बोले, ’मित, हजुर आराम गर्न जानुस् ।’
’होइन मित, ठीकै छ ।’
’मलाई बुबाहजुर र भाइसँग केही जरुरी बात गर्नु छ मित, कृपया ।’
गजेन्द्रबाबुको आवाज दरिलो थियो र अनुहार पनि तेजिलो । मालिकले एकपटक गजेन्द्रबाबुको अनुहारमा हेर्नुभयो तर त्यसरी हेर्दा उहाँको आँखा चहर्यायो । मालिकले बडासाहेबलाई हेर्नुभयो । उनको अनुहारले मालिकलाई बेवास्ता गरेझैं देखियो । मालिक चुपचाप उठ्नुभयो र केही नबोली कोठाबाहिर आउनुभयो । बाहिर निस्केपछि मालिकले मलाई हेर्नुभयो । हामीसँगै तल बैठकमा झर्यौं । बैठकमा झर्दाबित्तिकै मालिक रोकिनुभयो र एकपटक माथितिर हेर्नुभयो अनि मलाई हेरेर दिउँसो जस्तै कानैनिर फुसफुसाउनुभयो ।
’आजको बतास ननिको लागिरहेछ । हाम्रा खेमाका भुसतिघ्रेहरूलाई चौकन्ना गर् । सिकारी बन्दुकहरू भरेर राख्न भन् ।’
मालिकको इसारा नबुझिने छँदै थिएनन् । आइलागे जाइलाग्नु थियो तर मेरो अवचेतन बेस्मारी हल्लियो । अनौठो प्रकारको डरले हल्लियो ।सेतीकी आमा, वैद्यका लोग्नेस्वास्नी, के अब यो दरबारमै हत्याकाण्ड मच्चिँदै थियो त ? अहोे ! यो पहेँलो फूलको आशक्तिले अझ कतिको रगतको भोग माग्ने हो ?
’मालिक, के बन्दुक जरुरी छ ?’
मैले डराई डराई बिन्ती बिसाएँ । मेरो कुरा सुनेर मालिकले मेरो अनुहारमा हेर्नुभयो । उहाँका आँखाहरू ठूला भए ।मलाई च्याप्प कठालोमा समातेर उहाँले आफ्नो कोठामा लैजानुभयो । कोठाभित्र छिराएर मलाई हुत्याइदिनुभयो । म अगाडिको भित्तामा पुगेँ । डराई डराई मालिकतिर फर्केँ । जब फर्केँ उहाँ मेरो सामुन्ने नै हुनुहुन्थ्यो । मेरो अनुहारको नजिकै उहाँको क्रोधित अनुहार बिम्बित थियो । उहाँले क्रोधमै भन्नुभयो,
’तँलाई था’छ, पारसमणिको एक दानाको मूल्य कति छ ? चार पाउन्ड । एउटा कोर्सको एकसय बीस पाउण्ड । याने लगभग दुई हजार भारु, याने लगभग तीस तोला सुन । तीस दाना बेच्दा मेरो भागमा दश तोला सुन । पृथ्वीको कुनै अञ्जान सहरमा यो फूलका कारणले को अञ्जान म¥यो ? मलाई के फरक पर्छ ? तँ सोच्, अमलापुरको यो फाँटमा हामी कति हजार फूलहरू हुर्काउन सक्छौँ? यो फूलको खेती होइन सेवकराम, यो सुनको खेती हो । यसको आशक्तिमा खिचिएर अब म धेरै अगाडि बढिसकेको छु । हरहालमा यो अमलापुरमा फूलहरू उघाउनु छ । म पछाडिफर्किन सक्दिनँ अब । हरेक व्यवधानहरूलाई सखाप पार्न जरुरी छ । सोचेको थिएँ सोझो औँलाले घ्यू निक्लेला, तर अब टेढो औँला गर्नुपरे पनि तयार । आजको रात केही नहुन पनि सक्छ तर मैले गजेन्द्र सेनको आँखामा जे देखेको छु त्यो बेवास्ता गर्न सकिने कुरा होइन । आजको रात चौकन्ना रहन जरुरी छ । बुझिस् अब कुरा ?’
’तर मालिक यो दरबारमा कुनै अन्जान सहरका अन्जान मान्छेहरू बस्दैनन् । यो त हजुरको आफ्नै मितघर हो मालिक ।’
’अरे छोड् मितघर ।मलाई कुनै सौख थिएन मित लगाउँदै हिँड्ने । फेरि तँलाई थाहा छ, यो नातो किन गाँसेको हुँ मैले । हेर् हामीसँग समय छैन । आफ्नो सुरक्षाकै खातिर पनि हामी चौकन्ना हुन जरुरी छ ।’
’हस् मालिक, हजुरको जो इच्छा !’
आखिर एउटा नोकरले अरू के भन्न नै सक्थ्यो र ?
’यता सुन् राम्ररी ।’ मालिकले मेरो कानमा फेरि फुस्फुसाउनुभयो ।
मालिकले भनेअनुसार मैले भुसतिघ्रेहरूलाई चौकन्ना भएर तयारी हालतमा बस्न लगाएँ । हामीले बैठकमा बलिरहेका दुई लालटिनहरूमध्ये एउटा फुकेर निभायौँ । माथि धनहजुरीको कोठाबाट मधुरो अस्पष्ट आवाज आइरहेको थियो । हामीले गल्लीको बत्ती पनि फुक्यौँ । मालिकको कोठाको बत्ती पनि फुक्यौँ । भान्साको बत्ती निभिसकेको थियो । दरबार पछाडिको टहरो यसै पनि अँध्यारो नै थियो ।त्यता पनि हामीले नजर राख्न लगायौँ । भुसतिघ्रेहरूलाई अध्याँराको आडमा हाम्रो सुरक्षाको घेरा तयार गर्न लगायौँ र चुपचाप कान ठाडो पारेर कोठाभित्र बस्यौँ । दरबारभित्र अध्याँरो भए पनि बाहिर भने जून लागिरहेको थियो, सायद पूर्णिमा नजिकिँदै थियो । शुक्रवारको त्यो सौम्य रातमा दरबारभित्रको मनोदशा भने असौम्य हुँदै गइरहेको थियो । त्यस्तै नौ बज्न लागेको हुँदो हो । माथि चलिरहेको मधुरो वार्तालाप एकाएक चर्को हुन थाल्यो ।
’के भन्छस् तँ ? तँ होसमा त छस् गजेन्द्र ?’ बडासाहेब कड्किएको आवाज आयो ।
’म त होसमै छु बुवाहजुर । तर के हजुर होसमा होइसिन्छ ?’ गजेन्द्रबाबुको आवाज पनि चर्को थियो ।
’हाऽऽ आफ्नै बाउ र खानदानको इज्जत फालिस्, अझै ठूलो स्वर गर्छस् ?’
’जसलाई हजुर इज्जत भन्दै होइसिन्छ नि बुवाहजुर ? त्यो इज्जत होइन अहम् हो, आडम्बर ।’
’चुप लाग्, यही हो तेरो शैली आफ्नो बाउसँग बोल्ने ?’
’कति चुप लाग्ने बुवाहजुर ? हजुरको यही अहंकारका कारण हो हामी दाजुभाइ यहाँ बस्ननखोज्ने । हजुरको यही दम्भले सधैँ थिच्छ हामीलाई ।’
’मुख सम्हाल् केटा । खुरूक्क भन्, कहाँ भगाएर पठाइस् मेरी छोरीलाई ?’
’मेरी छोरी ?कति सजिलरी भनिस्यो है हजुरले ? के छोरीलाई छोरीको दर्जा दिइस्यो कहिल्यै ? दिइस्सेन । यदि दिइसिन्थ्यो भने धनुको मर्जीको खिलाफ जबर्जस्ती बिहे गर्दिसिन्थेन हजुरले । धनु जहाँ छे खुसी छे बुवा हजुर, हजुरले चिन्ता नगरिस्यो अब ।’
’तेरा कारणले आज के के भयो, यत्रो जात्रा मच्चाएर के पाइस् तैँले ?’
’के भयो र ? एउटा घमण्डको सिसा थियो, तोडियो । बुवाहजुर हजुरले किन बुझ्ने कोसिस गरिसिन्न ? धनु त्यो केटालाई अत्यन्त माया गर्छे । ऊबिना बाँच्न सक्दिने ।’
’बकबास नगर् । गिरिधारीको खानदानसँग सम्बन्ध जोडिनुको अर्थ बुझेको छस् तैले ? समयअनुसार आफूलाई बदल्नुपर्छ । गिरिधारीको सम्बन्ध राजासँग छ । उनको पहिचान विभिन्न जिल्लाका प्रहरी प्रशासनका हाकिमहरूसँग पनि उत्तिकै राम्रो छ । देशमै गन्यमान्य छ त्यो परिवार । कहाँ सजिलै मिल्छ यस्तो परिवारसँग सम्बन्ध जोड्ने अवसर ? के तैँले बुझेको छस् कति ठूलो बेइमानी भयो उनीहरूमाथि ?’
’के हजुरको वचन राख्नका खातिर धनुले सुली चड्नु पर्ने थियो ? वचन राख्नका लागि धनुलाई बेचिदिने हो बुवाहजुर ? ऊ बाख्राकी पाठी हो कि हजुरकी छोरी ?’
’बस् बस् भयो, हजुरहरू झगडा नगरिस्यो ।’ मुक भएर झगडा सुनिरहेका तेजेन्द्रबाबुलाई अति नै भएछ सायद रोक्ने कोसिस गरे । तर गजेन्द्रबाबुको बोली रोकिएन ।
’हजुरलाई के भएको छ बुवाहजुर ? बैनीको कुरा छोडिस्यो, आफूलाई हेरिस्यो त हजुरले । कठोर नै भए पनि हजुर यस्तो पापी त होइसिन्नथ्यो । कहिलेबाट यसरी हत्याको श्रृंखला चलाउन सुरु गरिस्यो हजुरले ? जसले हामीलाई हुर्कायो, बढायो, त्यस्ती धाईआमाको हत्या गराइदिस्यो हजुरले, किन बुवाहजुर ? यो घरको लागि आफ्नो जिन्दगी नै बिसाइदिएकी सेती बहिनीलाई गिद्घले लुछे झैँ लुछेको थाहा पाएर पनि केही गरिसेन हजुरले । आखिर मेरो मितले के जादु चलाएका छन् हजुरमाथि कि हजुरले हरेक कुरामा आँखा बन्द गरिसेको छ ? के आवश्यक थियो आज वैद्यको घरमा आगो लगाउन ? भाग्ने भागिसकेका थिए, किन मार्नुपरेको थियो उनीहरूलाई ? कति जनालाई बलि चढाउँदै हिँडिसिन्छ बुवा हजुरले मितको वेदीमा चढाएर ?’
’के भन्छ यो ?’ बडासाहेब झस्किए । यतिबेला बल्ल उनको आवाजको पारो केही घटेको जस्तो सुनियो ।
’मैले कहाँ मार्ने आदेश दिएँ वैद्यलाई ? धम्काएको मात्र हुँ । यसले पनि त कोर्रा हानेकै थियो त ।’
’बाहिर गएर हेरिस्यो बुवाहजुर, अझै पनि धुवाँ सेलाएको छैन होला ।’
’तब कसले ? बोधीले ?’
बडासाहेब आश्चर्यमा बोले, पूरै दरबारमा सिरिङ्ग काँडा उम्रियो । मैले मालिकलाई पुलुक्क हेरें । मालिक उभिएकै अवस्थाबाट हलचल गर्नुभएन । उता संवाद जारी नै थियो ।
’हो, हजुरले ठीक भनिस्यो । यो सब मितकै कर्तुत हो । यो मात्र होइन बुवाहजुर उनी एउटा भयङ्कर योजना लिएर गाउँ पसेका छन् । अस्तिको रात हजुरले मितको जुन फूलखेतीको बारेमा कुरा गरिसेथ्यो त्यो फूलखेती होइन बुवाहजुर, त्यो एउटा विषखेती हो । म हजुरलाई चाँडै नै यसको बारेमा सजग गराउनेवाला थिएँ ।’
’विषखेती? के भन्दैछस् ?’
’हो बुवाहजुर, त्यो विषखेती हो । पटनामा मैले यसको सुइँको पाएको थिएँ । त्यहाँ उनले यो फूलखेती गर्थे तर पछि धेरैले थाहा पाएपछि त्यहाँ यो खेती बन्द गरे । यदि मलाई पहिले नै थाहा हुन्थ्यो कि उनी फेरि त्यै खेती गर्ने योजना बनाएर यहाँ आएका छन्, म उनलाई उतिबेला नै रोकिदिन्थेँ । मितले यहाँ मान्छे मार्ने विषफूलको खेती गर्न लागेका छन् बुवाहजुर, हजुरलाई मुर्ख बनाइराखेका छन् । उनले नै मारे हाम्री धाईआमालाई, उनले नै लुटे इज्जत सेतीको, उनले नै लगाए आगो धनुका हुनेवाला सासुससुराको जिन्दगीमा । यो सब रक्तपातको कारण उनै हुन् बुवाहजुर । यो सब हालतको जिम्मेवार उनै हुन् ।’ गजेन्द्र बाबुले दृढतापूर्वक आफ्ना कुराहरू राखे । यता तल कोठाभित्र हाम्रो हालत फितलो हुँदै थियो ।
’हे भगवान्, यस्तो षड्यन्त्र ? यस्तो धोखा? बोधी ! नालायक ! धोकेबाज ! आज तेरो काल आएको रहेछ ।’
गजेन्द्रबाबुको पूरा कुरा सुनेपछि बडासाहेब क्रोधित भए ।
’आज नमारी छोड्दिनँ यसलाई ।’
उनको आवाज कोठा बाहिरबाट आएको सुनियो ।
’पर्खिस्यो बुवाहजुर, बन्दुक नै सबै कुराको समाधान होइन ।’ पछाडिबाट गजेन्द्रबाबुको आवाज आयो ।
’रुकिस्यो बुवाहजुर ।’ तेजेन्द्रबाबुको आवाज गजेन्द्र बाबुको भन्दा पनि नजिकबाट आइरहेको थियो ।
बडासाहेब हुर्रिँदै तल आए र हाम्रो ढोकाअगाडि उभिएर बन्दुकको निशाना लगाउन खोजे । तर उनले गल्ली र मालिक बस्ने कोठाभित्रको अँध्यारोको ख्याल गर्न बिर्सिए ।
रातको नौ बजेको थियो । दिनभरको तमासाले त्रसित भएका गाउँलेहरूले जुनेली रातमा भर्खर आँखा बिसाएका थिए । तब अचानक रातको सन्नाटा चिर्दै दरबारतिरबाट बन्दुक पड्किएको ठूलो आवाज आयो र गाउँसम्मै सुनियो ।
’ड्वाङ्गऽऽऽ’
गाउँलेहरूको होसहवास उड्यो ।
’यति राति किन बन्दुक पड्कियो दरबारमा ? के अशुभ हुन लाग्यो यो ?’
यता बडासाहेब हाम्रो कोठाको बाहिर गल्लीमा रगताम्य भएर ढले । मालिकले समाएको बन्दुकबाट धुँवा पुत्ताइरहेको थियो । तत्कालै तेजेन्द्रबाबु कराउँदै तल दौडिएको आवाज आयो । तुरुन्तै अँध्यारोमा लुकेर बसेको एउटा भुसतिघ्रेले बन्दुक पड्कायो । तेजेन्द्रबाबु बैठकमै ढलेर छट्पटाउन थाले । हतारिँदै तल झरेका गजेन्द्रबाबु कसो कसो छलिएर आँगनसम्म दौडिए । उनलाई अर्को भुसतिघ्रेले आँगनमै बन्दुक पड्काइदियो । आत्तिएर कुनाको कोठामा बसेकी गजेन्द्रबाबुकी श्रीमतीलाई अर्कोले गोली दाग्यो ।
दरबारबाट एकपछी अर्को ’ड्वाङ्, ड्वाङ्’ बन्दुक पड्किएको आवाज आइरह्यो । कुनै ठूलो अनिष्ट भयो आज दरबारमा ।कानलाई चनाखो पार्दै गाउँलेहरूले छेउमा सुतेका आफ्ना बाल्खाहरूलाई तानेर चरप्प च्यापे ।
यता दरबारभित्र तीनओटा लासहरू ढलेका थिए, बाहिर आँगनमा अर्को एउटा लास र पछाडि टहरामा पनि केही नोकरनोकर्नीहरू लास परिसकेका थिए । अकल्पनीय, बीभत्स घटना मेरो आफ्नै आँखासामुन्ने घट्यो । म स्तब्ध भएँ । दरबारभरिबारुदको गन्ध व्याप्त थियो, जसमा आलो रगतको गन्ध मिसिएको थियो । त्यो गन्धले मेरो आन्द्रा बटारिएर आयो ।मलाई बान्ता आउला झैँ भयो । दरबारभित्रको त्यो बीभत्स हत्याकाण्डको साक्षी बनेका मेरा आँखाहरू अनौठो गरी बटारिए । भनन रिँगटा लाग्यो । म बेहोस भएछु ।
(प्रकाशोन्मुख उपन्यास ‘पहेँलपुर’बाट)