विष्णुमाया विभु विदेशमा रहेर नेपाली साहित्यको विकास र विस्तारमा समर्पित प्रतिभा हुन् । उनले गजल र कविताका कृतिहरू प्रकाशन गरेकी छन् विदेशमा बसेर साहित्यिक र सामाजिक सङ्घ संस्थाहरूको नेतृत्व गरेकी छन् । उनी हाल अनेसास नर्वे च्याप्टरकी अध्यक्ष हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘जिन्दगी अचेल’ शीर्षकको कविता समेटिएको छ । यस कविताले अस्तव्यस्त वर्तमान मानव जीवनशैलीलाई निकै जीवन्त रूपमा अभिव्यक्त गरेको छ । – सम्पा. |
रातो हटाएको अवीर जस्तो भएको छ
कलम हराएको कविर जस्तो भएको छ
हो यो जिन्दगी अचेल,
गजुर चोरिएको मन्दिर जस्तो भएको छ
मृत्युपछिको तस्विर जस्तो भएको छ
जिन्दगी अचेल ।
रहर सकिएको सहर जस्तो,
पानीले छोडेको बगर जस्तो
चिठ्ठीविनाको खाम जस्तो,
ज्योतिविनाको घाम जस्तो
फित्ता नभएको झोला जस्तो,
ढुङ्गा नभएको खोला जस्तो भएको छ
जिन्दगी अचेल ।
नुनिलो सकिएको नुन जस्तो,
पहेलो झिकिएको सुन जस्तो
पानि नभएको इनार जस्तो,
नदीविनाको किनार जस्तो
कस्तो हो कस्तो भएको छ,
निकै सस्तो भएको छ
जिन्दगी अचेल ।
रानीविनाको घार जस्तो,
स्त्रीविनाको घरबार जस्तो
बल्न बिर्सिएको आगो जस्तो,
बग्न बिर्सिएको पानी जस्तो
जुन–ताराले छोडेको आकाश जस्ता
चल्न छोडेको बतास जस्तो
कस्तो कस्तो भएको छ जिन्दगी अचेल ।
हिउँ नपर्ने हिमाल जस्तो,
भुवा नउड्ने सिमल जस्तो
पङ्ख नभएको चरा जस्तो,
आली नभएको खेतको गरा जस्तो
जमराविनाको दशैँजस्तो,
भमरा नउडेको बैँश जस्तो
कस्तो कस्तो भएको छ जिन्दगी अचेल,
चामलविनाको भात जस्तो,
पाउजु नबजेको सुहागरात जस्तो
बत्ति निभेको तिहार जस्तो,
विश्वास मरेको पियार जस्तो
सुगन्ध सकिएको पारिजात जस्तो,
सूर्य उदाउन छोडेको प्रभात जस्तो
कस्तो कस्तो भएको छ जिन्दगी अचेल ।
आफ्नै देशमा शरणार्थी भएको देशी जस्तो
एयरपोर्टमा पासपोर्ट हराएको परदेशी जस्तो
रुँदारुँदा सधै, हाँस्नै भुलेको ओठ जस्तो,
दुख्दा दुख्दा थाकेर दुख्नै भुलेको चोट जस्तो
इमान बेचेको शासस्त्र जस्तो,
स्वाभिमान सकिएको देशभक्त जस्तो
कस्तो कस्तो भएको छ जिन्दगी अचेल ।
भाग्य लेख्न छुटेको निधार जस्तो,
बाघले कुरेको शिकार जस्तो
अन्धी दिदीको ऐना जस्तो,
कोमामा गएकी मेरी सैना जस्तो
आफ्नै चौतारी र पिपल चिन्न छोडेको बर जस्तो,
गन्दागन्दै गन्ति भुलेको गणित सर जस्तो
कस्तो कस्तो भएको छ जिन्दगी अचेल।
फूलैफूल होस् भनेर कसले भनेको थियो र !
फुलसँगै काँडा पनि हुन्छन् र स्विकार्नु पर्छ
भनेर जान्दा–जान्दै, मान्दा–मान्दै पनि
सधै काँडाले मात्र निरन्तर घोचिरहदा
मर्नु न बाँच्नु भएको छ जिन्दगी अचेल ।
इमान र स्वाभिमानलाई भगवान मानेर
निरन्तर कर्म गरिरहँदा पनि
कैले रोगब्याधी बाढी पैरो भुकम्प महामारी
के के हो के के को तनाब डर र त्रासले निरन्तर पोलिरहदा
मर्नु न बाँच्नु भएको छ जिन्दगी अचेल
मर्नु न बाँच्नु भएको छ यो जिन्दगी अचेल‘!