भागवत आचार्य नेपाली साहित्यमै विधावारिधि प्रतिभा हुन् । उनले नेपाली साहित्यका सिर्जना, समीक्षा, साहित्यसञ्चार र सङ्गठनका माध्यमबाट बहुमुखी योगदान पुर्याउँदै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा आचार्यको ‘आफ्नै लयको पर्खाइमा’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मानवजीवनका स्वार्थी प्रवृत्तिको विरोध गर्दै मानव जीवनको उच्च आदर्श र उज्ज्वल भविष्यको कामना गरेको छ । यस कवितामा प्राकृतिक विम्बहरूबाट मानवीय मूल्यको खोजी गरिएको छ । – सम्पा. |
आफ्नै चारा बिस्ट्याएर किन नहोस्
उमार्छन् चराले मरुभूमिमा पिपलहरू,
शत्रु भन्दै जति खेदो खने पनि
खोसेर खाएको छैन सर्पले अरूको गाँस,
खै किन चाहिएको हो मान्छेलाई मात्र
स्वार्थ र अभिमानको खेती
अनि आफ्नै चिहान खन्दै
भविष्यको विनाशलीला ।
मेरो माटोलाई
मेरै ज्ञान–विज्ञान र मेरै उज्यालो
अनि,
काफी छ –
मेरै कर्मशील भाकाको गीत ।
धड्कन नै मर्छ भने
कसैको मुटु पाएर के काम
दृष्टि नै मर्छ भने
कृत्रिम नानी लगाएर के काम
अब थप्नु छ मैले
ऊर्जाको तेल मेरै दियोमा
धिपधिप धिपधिप बनिसकेका उज्याला
फेरि जगाएर
मेरो बोधिसत्त्वले
विश्वलाई नै बनाउनु छ आभामय ।
धर्ती मेरो घर, प्रकृति मेरी आमा
बसुधैव कुटुम्बकम् – मेरो सभ्यता
रमाउन्नँ अब म आकाश छोडेर गमलामा,
आक्रान्त सभ्यता छ – आफ्नै लयको पर्खाइमा
मुर्झाएको सहिष्णुता ब्युँझाउँदै
उज्यालो भविष्यका निम्ति
बन्नु छ मैले
घरभित्र कैद भएको
मानव अस्तित्वको सञ्जीवनी ।