अवकाश जीवन बिताइरहेका शैलेन्द्र साकारको सम्पूर्ण समय सिर्जना र लेखपढमै बित्छ । नयाँ बानेश्वर निवासी साकार फुर्सदको समयमा आफूलाई मन परेका पुस्तक दोहोर्याएर पढिरहन्छन् । मूल विधा कविता भएकै कारण कविता कृतिहरू नै दोहोर्याएर पढ्ने उनले पाठकलाई पाँच थान कविता संग्रह पढ्न सिफारिश गरेका छन् । यहाँ कवि साकारले दोहोर्याएर पढिरहने तिनै पाँच कविता कृतिबारे उनकै शब्दमा चर्चा गरिएको छ :
१. गौरी
कविवर माधवप्रसाद घिमिरेले पत्नी वियोगको आघातलाई शब्दमा उनेको ‘गौरी’ मैले धेरैपटक पढेको छु । यो नेपाली कवितामा सधैं स्मरणीय र मार्मिक काव्य कृति हो । आफ्ना कलिला छोरीहरू मातृ वियोगमा हुँदा ती हाँस्दा पनि आमा बिर्से कि भन्ने चिन्ता र रुँदा आमा नै सम्झे कि भन्ने दुःख देखाइएको गौरी जतिपटक पढे पनि ताजा लाग्छ ।
२. चिसो चुल्हो
जातीय विभेदलाई मूल विषय बनाइएको पहिलो महाकाव्य हो, चिसो चुल्हो । बालकृष्ण समले यो काव्यमार्फत् विस्तृत फलकमा काठमाडौंको समाजको चित्र देखाएका छन् । गौरी क्षेत्रीनी र सन्ते दमाइको प्रेम आकर्षक र क्रान्तिकारी लाग्छ । यो कृति मैले दोहोर्याएर पढेको कृतिमध्येमा पर्छ ।
३. मंगलमान
मंगलमान जागरुक र सचेत एक साधारण मान्छे नायक भएको काव्य हो । कवि सिद्धिचरण श्रेष्ठले यस कृतिमा प्रत्येक क्रान्ति र विद्रोहमा सामेल मंगलमान जहिले पनि साधारण जनता नै रहने कुरा उठाएका छन् । ‘ब्याक टु मंगलमान’ भन्ने लोकोक्तिलाई मूर्त रुप दिएको भाव-बिम्ब यो कृतिमा पाइन्छ ।
४. आमाको सपना
गोपालप्रसाद रिमालको आमाको सपनाले नेपाल आमाले सधैं देखिरहने सपनालाई गद्य कविताको नयाँ स्वरुपमा प्रस्तुत गरेको छ । रिमालका कवितामा भविष्यप्रति आस्था प्रकट गरिएको हुन्छ र ती अत्यन्त कलात्मक शैलीमा लेखिएका पनि हुन्छन् । क्रान्तिको भावभूमिमा कविताको सशक्त र प्रभावशाली रचना गर्ने अग्रणी कवि गोपालप्रसाद रिमालको यो संग्रह सधैं पठनीय छ ।
५. घुम्ने मेचमाथि अन्धो मान्छे
नेपालको चिरन्तन राजनीतिक विषयलाई मूल विषय बनाएर लेखिएका भूपी शेरचनका कविता पढ्ने एकमात्र माध्यम हो, घुम्ने मेचमाथि अन्धो मान्छे । व्यंग्य विधा र भावलाई सशक्त ढंगले प्रस्तुत गरिएको यो संग्रह निकै चर्चित छ । भूपीका अरु कविताहरू पनि चर्चित नभएका होइनन् तर यही संग्रहका कविता जनप्रिय छन् । यो नेपाली गद्य कविताको सबैभन्दा बढी बिक्री हुने संग्रह पनि हो ।