भीम खतिवडाको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी संस्कृत र नेपाली साहित्यका विशिष्ट विद्वान् व्यक्तित्व हुन् । उनका सर्जक र समीक्षक दुवै व्यक्तित्व समानान्तर देखिन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलमामा उनको ‘मेरो बुद्ध’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा बुद्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै राष्ट्रिय चेतनाको अभिव्यक्ति दिइएको छ । -सम्पा. |
बाबा बुद्धको तस्वीर हो यो ?
सानी छोरीका हातमा काजगको
आधा डढेको बुद्धको चित्र देखेर
निर्बोध छोरीका आँखाभित्र हराएँछु ।
पराधीनता साटेर
मेरा पूर्खाले मलाई
एउटा स्वाधीन देश दिएथे
वीरताको निशानी खुकुरी–साथी
सगरमाथा र बुद्धको धर्ती दिएथे ।
नझुकेको टाउको सगरमाथा थियो
नदुखेको शान्ति बुद्ध थियो सायद,
मेरो
रक्ताम्ये वर्तमानले
टाउको झुकाएर स्वाभिमानको
बुद्ध डढाएर आगो–आगो
खरानीको शान्ति च्यापेर बाँच्ने
विवशता स्वीकार्नु परेको छ ।
मेरो शान्ति
मेरो सर्वोच्चता
मेची-कालीको दूरी मात्र होइन
राष्ट्र उडाउने क्रान्ति हुरी मात्र होइन
बन्दुक बारुद र खुकुरी मात्र होइन
हत्या, हिंसा, आतङ्क र संहार होइन ।
आमा-बाबाको मृत्युउत्सव
छोराछोरीको जीवन होइन
त्यसैले छोरी!
तिमी फेरि नयाँ बुद्ध बन ।
मेरो बुद्ध अब शान्ति भन
नेपाल र नेपालीको नवजीवन बन ।