- सम्पादकीय
सामान्य बुझाइमा समीक्षाको विकास सिर्जनाभन्दा पछि भएको हो । यो सबैले भन्न सक्छन् । समीक्षा सिर्जनाको मात्र हुँदैन । समीक्षा सिर्जनाको मात्र हुँदैन भनेपछि सिर्जना भन्दा समीक्षा जेठो बन्न थाल्छ । मान्छेमा प्रिय, अनुकूल र सकारात्मक वस्तु एवं भाव पहिल्याउन सक्ने संवेदना कहिले आरम्भ भयो समीक्षा तहिले आरम्भ भयो ।
पश्चिमका मान्यताको चर्चा गर्नेहरू उतै छन् । कति छन् कति हामीले नगरे पनि पुग्छ । पूर्वमा ईक्षण अर्थात् अवलोकन अर्थको हेराइमा ‘सं’ उपसर्ग लागेर निर्माण भएका शब्दहरू वैदिक समयबाट नै प्रचलनमा आए । पूर्वीय व्यवहार र चिन्तनमा प्रकृति जगत्का समग्र सत्यलाई मैत्री भावबाट निरूपण गरिने परम्परा इतिहासदेखि आजसम्म छ । यस परम्परा वा प्रवृत्तिको सन्तुलित रूपको अनुवीक्षण गरिने सन्दर्भले समीक्षाको इतिहास वा पृष्ठभूमिको काम गर्न सक्छन् ।
ऐतिहासिक दृष्टिले हेर्दा यजुर्वेदको छत्तिसौँ अध्यायको अठारौँ मन्त्रले मैत्री दृष्टिलाई नै समीक्षाको मूल आधार मानेको छ । मैत्री आशयमा अभिव्यञ्जित हुँदै आएको समीक्षाको अर्थ कालान्तरमा आलोचना पनि बन्यो । समीक्षाका समानार्थी शब्दका रूपमा आज आलोचना, समालोचना आदि व्यवहृत छन् । यसको विकास यजुर्वेददेखि भएको कुरा तलको अभिव्यक्तिले देखिाउँछ :
दृते दृ:ह मा मित्रस्य चक्षुषा सर्वाणिभूतानि समीक्षमात्
मित्रस्य चक्षुषा सर्वाणि भूतानि सीक्षे
मित्रस्य चक्षुषासर्वाणि भूतानि समीक्षामहे ।। (यजुर्वेद, ३६/१८)
यजुर्वेदको उक्त मन्त्रमा समग्र विश्व प्रकृतिलाई मैत्री दृष्टिले हेरियोस् र मलाई अरूहरूले पनि मित्रका आँखाले हेरून् र म पनि मित्रका आखाँबाट हेरियूँ । समग्र विश्व प्रकृतिलाई पनि हामी मित्रका दृष्टिबाट हेर्ने गरौँ भन्ने भाव अभिव्यक्त छ । समीक्षाशास्त्रको वाङ्मयिक प्रथम चिनारी यही हो । यस सूत्रले समीक्षण गरिने कार्यको सन्तुलित विधि पनि प्रदान गर्दछ । समीक्षक समदृष्टिचेत सम्पन्न हुनु पर्ने पक्ष पनि देखाउँछ ।
आज समालोचना, आलोचना, शोध जे भनिए पनि यस शब्दको पूर्वस्रोत समीक्षा हो र पछिल्ला चरणमा व्युत्पादन तथा द्वितीय व्युत्पादन भएर निर्माण भएका आलोचना र समालोचना शब्दका सन्दर्भहरू विविध किसिमका देखिन्छन् । संस्कृत भाषाबाट विकसित आर्य भाषाहरूको आधुनिक काल आरम्भ भएपछि र तिनका शब्द निर्माण विधि र पारिभाषिकीकरणका सन्दर्भहरूको उपस्थिति पछिका समयका हकमा संस्कृत व्याकरण सिद्ध नेपाली बङ्गाली, हिन्दी, मैथिली, मराठी, अवधी, भोजपुरी जस्ता भाषामा यस शब्दको समानान्तर व्यवहार हुँदै आएको छ । यो शब्द पनि (सम् ईक्षा.समीक्षा अर्थात् सम्यक् र सन्तुलित, समग्र अवलोकन पारख, मूल्यङ्कन आदि अर्थमा प्रयोग भएको देखिन्छ । पाश्चात्य सन्दर्भमा प्लेटोपूर्वको समयमा प्रकृति जगत्का वस्तुलाई विमर्श गरिने प्रचलन कायम भएको थियो । त्यसलाई प्लेटोका समयमा आएर शास्त्रीय रूप प्रदान गरियो । यसरी पूर्व र पश्चिम दुवैमा समीक्षाको विकास साहित्य वा कला सिर्जनापछि मात्र होइन मानव व्यवहारबाटै भएको पक्षलाई बिर्सनु हुँदैन ।
समीक्षा शब्द साहित्यमा बढी प्रचलनमा रहे पनि ज्ञान र विज्ञानका, सिर्जित र नैसर्गिक विषयलाई विमर्श गर्ने आधार समीक्षा नै हो । कुनै ज्ञानविज्ञान, कला, वस्तु, व्यक्ति, प्रवृत्ति आदिको मूल्य पहिचान गर्ने, तिनको योगदान र प्रभावको निरूपण गर्ने समग्र कार्य समीक्षा हुन् । समालोचना, आलोचना, विवेचना, विमर्श सबैले कुनै मूल्यको निरूपण, पारख वा विवेचना गर्नमा प्रयोग हुने पद हुन् । आज साहित्यको एकाधिकारिक पारिभाषिक शब्द बनेर प्रयुक्त भए पनि समीक्षा ऐतिहासिक शब्द हो । यसले बहुल पक्षलाई मूल्याङ्कन गर्ने सामर्थ्य राख्दछ । समीक्षाका कार्यलाई साहित्यशास्त्रले मूलभूत पाँच भागमा विभाजित गरेका छन् :
क) मूल्य निर्णय
(ख) व्याख्या विश्लेषण,
(ग) सैद्धान्तिकीकरण
(घ) शोधपरकता
(ङ) समालोचनाको पद्धति ।
पूर्वीय दृष्टिले हेर्दा यी पाँच ओटा प्रकार्यहरूमध्ये पहिलो चरण इसापूर्व भरतपूर्वका आचार्यहरूले रचनाको उक्ति विवेचना अर्थात् औक्तिक चिन्तनका आरम्भहरू व्यवस्थित ढङ्गले अध्ययन गरेका उदाहरणहरूबाट पुष्टि हुन्छ । उनीहरूले उक्तिमा अभिव्यञ्जित हुने अर्थमा सृजना जीवन्त रहन्छ भन्ने कुरा ठम्याइसकेका थिए । पूर्वीय दृष्टिमा उक्तिको समीकरण नै कृति हो र कृतिको अर्थमा निहित स्रष्टाको चिन्तन मूल्यका रूपमा उपस्थित रहन्छ ।
नाट्यशास्त्रका प्रणेता भरतले कृतिमा काव्यिक मूल्य चयनको प्रयत्न गरेका थिए । उनका आधारभूत संवेदना उक्तिमै रहने तत्त्व हुन् र सृजनाका भाववाहक उक्तिलाई सौन्दर्य तत्त्व हुन् भन्ने कुरा भरतपूर्वका आचार्यहरूले प्रस्तुत गरिसकेका थिए । त्यतिखेरसम्म सौन्दर्यलाई रस र अलङ्कारमा विभाजित गरेर अध्ययन गर्ने परम्परा बनेको थिएन तर उनीहरू ती पक्षका पारख गरिरहेका थिए ।
पूर्वीय समीक्षा परम्परामा सकय क्रममा रीति र ध्वनिका नाममा व्याख्या र विश्लेषण गर्ने, वक्रोक्ति र औचित्यका नाममा समीक्षा गर्ने परम्परा विकास भए । यी कोणबाट व्याख्या र विश्लेषण गर्नु अघि पनि काव्यिक मूल्यलाई उक्तिका सीमामा राखेर निर्णय दिने प्रचलन भने विकास भइसकेको थियो । मुकुल भट्ट जस्ता आचार्यहरूले उक्तिको सरल, वक्र र गम्भीर तह पहिल्याएर सरला (उक्ति), वक्रा (उक्ति) र गभीरा (उक्ति)का आधारमा कथनको तात्पर्य विश्लेषण गर्दै निष्कर्षण गर्ने परम्परा बसाइसकेका थिए । यो पक्षलाई अझ सिलो सँगालो गरेर पूर्वीय समीक्षाशास्त्रको परम्परागत जरो पहिल्याउन सकिन्छ ।
शब्दशक्तिवादीहरूको आगमनपछि मात्र उक्तिको वर्गीकरण भएको देखिन्छ । उक्तिको सरलतालाई अभिधा, वक्रतालाई लक्षणा र गभीरालाई व्यञ्जना भनेर संज्ञान्तरण गर्ने काम क्रमश: विकास भएको देखिन्छ ।
ध्वनिवादीहरूले यसै चिन्तन निकटबाट ध्वनिकाव्य, गुणीभूत व्यङ्ग्य र चित्रकाव्यका नामबाट त्रितहमा राखेर काव्यको व्याख्या गरेपछि विस्तारै समीक्षा साहित्यको विषय बन्दै आयो । क्रमश: रस र अलङ्कार, रीति र वक्रोक्ति, ध्वनि र औचित्यको विमर्श हुन थाल्यो । तर यी पक्षको विश्लेषण विधिमा पनि कुनै न कुनै कोणबाट उक्तिको तहमा पुग्नै पर्ने आन्तरिक सत्यलाई बिर्सनु हुँदैन । यो पूर्वको देन हो ।
ऐतिहासिक दृष्टिले हेर्दा नवौँ शताब्दीपछिका व्याख्याताहरूले साहित्यको भाषिक सौन्दर्य र भावगत सौन्दर्यलाई अध्ययनको केन्द्र बनाए । यही केन्द्रबाट देहवाद र आत्मवादको प्रश्न उठाए पनि रचनाका उक्तिको तहबाट काव्यिक अर्थ खोजिने गरेको सन्दर्भ मूल सन्दर्भ बनेर रह्यो । कुनै पनि रचनाको व्याख्या गर्ने तौरतरिका, सैद्धान्तिकीकरण गरेर त्यसकै परिवृत्तमा रचनाको व्याख्या, विश्लेषण र मूल्याङ्कन गरिने सन्दर्भहरूलाई हेर्दा ती सबै उक्तिकै आधारमा प्रस्तुत भएका देखिए यो पूर्वीय देन हो । शोधपरक समालोचनालाई पछिल्लो र वैज्ञानिक समालोचनाको नमुना मानिए तापनि यसको तथ्यीकरणका निम्ति उक्तिकै सहायता अनिवार्य देखियो । आज विकसित समीक्षाका विभिन्न पद्धतिहरू प्रकारान्तरले उक्तिकै परिधिमा रहेर निर्माण भएका देखिए । यो हामीले वेस्सरी चर्चा गर्नुपर्ने पक्ष हो ।
उक्त लघु विमर्शबाट समीक्षाशास्त्रलाई पाश्चात्य चश्माबाट मात्र भन्दा पूर्वीय खुला आँखाबाट हेरिनुपर्ने देखिन्छ । हामी हाम्रै पुर्खाले तयारपारेका औजार छोडेर पराइका औजार लिएर उनीहरूसँग प्रशिक्षण लिइरहेको पक्षलाई बोध गर्न ढिला भइसकेको छ । अरूले भनाइदिएका रङ्गीन चश्मा भन्दा आफ्नै प्राकृतिक आँखाले यथार्थ हेर्न र पहिल्याउन यजुर्वेददेखिको वाङ्मयिक परम्परा र त्यसपूर्वको लोकपरम्परा पनि अन्वेषण र प्रयोग गर्न ढिला गर्नुहुँदैन ।
– सम्पादक