विजय मल्ल (वि.सं.१९८२ – वि.सं.२०५६) बहुमुखी नेपाली साहित्यकार हुन् । मल्लको जन्म वि.सं. १९८२ असार १० गते ओमबहाल, काठमाडौँमा भएको थियो । उनका बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया मल्ल हुन्। मल्ल प्रख्यात लेखक गोविन्दबहादुर मल्लका भाइ हुन् । पिता ऋद्धिबहादुर मल्लबाटै साहित्यिक सिर्जनात्मक अभिप्रेरणा पाएका मल्लको कलम आख्यान, नाट्य र कविता विधामा कलम चलाएका छन् । उनका विजय मल्लका कविता (कविता, वि. सं २०१६ ) उल्लेख्य कविता कृति हो । उनका अन्य कृतिहरू यसप्रकार छन् :
कोही किन बर्बाद होस् (२०१६ ), जिउँदो लास (२०१७), वि. सं पत्थरको कथा (२०२८), बौलाहा काजीको सपना (२०२८), वि. संस्मृतिको पर्खालभित्र ( २०४० ), मानिस र मुकुण्डो (२०४०) भित्ते घडी (२०४०), भूलैभूलको यथार्थ (२०४१), सृष्टि रोकिँदैन (२०४८ ) जस्ता नाट्यक कृतिहरू प्रकाशित छन् ।
एक बाटो अनेक मोड (२०२६) र कथासंग्रह मान्छेको नाँच र अन्य कथा (२०५२) जस्ता कथा कृतिका साथै अनुराधा (२०१८ ), कुमारी शोभा (२०३९), श्रीमती शारदा (२०५६) जस्ता उपन्यास कृतिहरू प्रकाशित छन् । साहित्यका आख्यान कविता र नाट्य विधामा सफल ढंगले कलम चलाउनका साथै समीक्षा क्षेत्रमा पनि कलम चलाउने मल्ल जुन विधामा हात हाले पनि सफल प्रतिभाका रूपमा देखिन्छन् । साहित्य सागरको प्रस्तुत शृङ्खलामा विजय मल्लको स्मृति दिवसको सन्दर्भ पारेर उनको ‘कतिले आत्महत्गा गरिसक्थे’ शीर्षकको कविता समेटिएको छ । यस कविताले विम्बात्मक रूपमा परिवर्तनको पक्षपोषण गरेको छ ।
– सम्पा.
कतिले आत्महत्या गरिसक्थे !
बगर–बगरमा, गल्ली–गल्लीमा,
रानीपोखरीको नील जलमा,
हरेक देखिने दलिनहरूमा
कतिले झुन्डिएर सृष्टिलाई गिज्याइसक्थे !
कतिले आत्महत्या गरिसक्थे !
दुःखले पोलेको मुटु लिएर
पीडाले सढेको शरीर लिएर
अन्यायको तातो झीरले डामेको अन्धो आँखा लिएर
कतिले नमर्दै आफूलाई मारिसक्थे !
कतिले आत्महत्या गरिसक्थे !
जिउनु छ भनेर नै कोही जिउँदैनन् यहाँ,
मृत्युसँग तर्सेर नै कोही बाँच्दैनन् यहाँ।
—
यहाँ कतै–कतै पाइन्छ–
आँसुलाई पुछिदिने,
स्नेहको मीठो स्वरले टुटेको दिललाई साँचिदिने
मायालु मुलायम हात, मायालु मुलायम आँखा।
त्यसैले पो–
नत्र त यो दुनियाँ मसान भइसक्थ्यो,
टुटेको दिलको, फुटेको मुटुको,
कसिङ्गरैकसिङ्गरको, करङैकरङको थुप्रोझैँ।
नत्र त यो दुनियाँ मसान भइसक्थ्यो !
मसान भइसक्थ्यो !
उफ् !कतिले आत्महत्या गरिसक्थे !