विश्वेश्वरप्रसाद कोइराला (१९७१-२०३९) नेपाली साहित्य एवम् राजनीति क्षेत्रका विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी साहित्य क्षेत्रमा मूलतः आख्यानकारका रूपमा सुपरिचित छन् तर उनका कविताहरू पनि प्रकाशित छन् । उनका कवितामा पनि समय सापेक्ष चेतना पाइन्छ । यहाँ उनको ‘वसन्तमा’ शीर्षकको कविता समेटिएको छ । यस कविताले वसन्त वा परिवर्तनको पक्षलाई उजागर गरिएको छ । यो कविता कोइरालाको समृतिस्वरूप प्रस्तुत गरिएको हो । -सम्पा |
वसन्तसँगसगै आकाश
स्निग्ध रूपमा आउँछ र
उसले धरतीलाई धेरै कुरा दिन्छ
तातो स्पर्श दिन्छ
न्यानो छहारी दिन्छ
जताततै मनमोहक सुगन्ध र
आफ्नो सबै थोक दिन्छ
वसन्तमा आकाशले
धरतीलाई माया गरेर चुम्छ।
जाडामा कठाङ्ग्रिएका रुख-गाछीमा
सहसा जवानी चढ्छ
उनीहरू आफैं रोमाञ्चित हुन्छन्
आफैं छचल्किन्छन्-आफै पोखिन्छन्
उनीहरूको जवानीको मादकताले
निदाएको धरती एकपटक फेरि ब्यूँझन्छ
धरतीका प्रत्येक अङ्ग-प्रत्यङ्ग
पुष्पित र मर्मरित हुन थाल्छन्
जताततै धरतीभरि वसन्तले
लुकामारी खेल्दै प्रणयको गीत गाउन थाल्छ
वसन्तमा धरतीमा बैंस चढ्न थाल्छ
वसन्तमा आकाशले
धरतीलाई माया गरेर चुम्छ।