सुरेन उप्रेतीको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा प्रकाशन भइसकेको छ । उनी विदेशमा रहेर नेपाली भषा साहित्यमा समर्पित विशिष्ट प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको कोरोना काल’ शीर्षकको छन्दोबद्ध कविता समेटिएको छ । यस कविताले कोरोना महामारीलाई मानवीय चेतनाले जित्न सकिने भाव अभिव्यक्त गरेको छ । -सम्पा. |
कहाँ थ्यो यो कस्तो नव भय छरी जीवन लिने
नदेख्ने कस्तो हो अलप गतिमा विश्व भरिने
हिँड्यो छर्दै छर्दै अमुक पनको त्रास कसरी
उदायो सारामा तरल मनको त्रासद घडी ।
फुटायो मान्छेको सँगसँग हुने आत्मिक पना
छुटायो आत्माको सुमधुर कला याद सपना
गरायो आफैँमा निकट नहुने भाव बलियो
बनायो साँच्चै नै जमिन मरुझैँ हो कि छल हो ?
उठौँ चेतौँ सारा मनुज अब ता जीव सबले
जगेर्नाले मात्रै अजर छ धरा भन्छ जगले
नहट्ला कोरोना कहर सजिलै चेत नखुले
नबन्ला यो धर्ती अब पनि सबै जुट्न नसके ।
बचाऔँ आफैँले सजग सब भै सुन्दर धरा
खनौँ लौ आफैँले तनमन मिली भेद पहरा
सबै मान्छे मान्छे अलिकति कतै भेद नबनोस्
सबै साथी साथी विविध रङमा द्वन्द्व नबढोस् ।