हरिभक्त कटुवाल (१९९२ असार १८ असम, भारत – २०३७ असम भारत) नेपाली साहित्यका विशिष्ट कवि प्रतिभा हुन् । उनले साहित्यिक पत्रकारिता गर्नका साथै कथा कविता, गीत र खण्डकाव्य आदि विधामा कलम चलाएका छन् । उनका भित्री मान्छे बोल्न खोज्छ (सन्.१९६२), यो जिन्दगी खै के जिन्दगी (सन् १९७३), बदनाम मेरा यी खाँखाहरू (सन् १९८७) जस्ता कवितासंग्रह प्रकाशित छन्। उनको सुधा (सन् १९६५) खण्डकाव्य कृति हो । उनका गीतसङ्ग्रह (सन् १९८५) र सम्झना जस्ता गीत संग्रहका साथै स्मष्टीकरण (सन् १९७३) कथासङ्ग्रह पनि प्रकाशित छन् । उनको सम्पादनमा पूर्णकिरण कवितासङ्ग्रह पनि प्रकाशनमा आएको छ । उनका किवतामा आशावादी जीवनदृष्टि, सामाजिक विकृतिविसंगतिको विरोध, शोषण र नारीविरुद्धका गतिविधिको विरोध, उच्च सौन्दर्य चेतना, सरल सहज र सम्प्रेष्य भाषाशैली पाइन्छ । उनी स्वच्छन्दतावादी प्रगतिवादी कविका रूपमा चिनिन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको जन्म महिना र जन्म साताको सन्दर्भ पारेर उनकै कविता ‘यो जिन्दगी खै के जिन्दगी !’ मार्फत उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ । यस कविताले मानव जीवनका समस्यालाई सरल सहज विम्बबाट अभिव्यक्त गरेको छ । – सम्पा. |
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !
बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी !
पसलमा शोकेशभित्र सजाएर राखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी !
रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी !
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी !
यो जिन्दगी खै के जिन्दगी !!