उत्तम भौकाजी नेपाली साहित्य जगत्मा कवि एवम् गीतकारका रूपमा सुपरिचित प्रतिभा हुन् । उनका यात्रामा म पनि (२०६९, कवितासङ्ग्रह ) ‘स्पर्श (गीतिएल्बम – २०६०), ‘वर्ड्स् (गीतिएल्बम – २०६६), मनमोहिनी (गीति एल्बम – २०७३) का साथै संयुक्त कृतिका रूपमा तीन आँखाको मान्छे (२०४५), जिन्दावाद मुर्दावाद (२०४७) यात्रा पछि यात्रा (२०५०) जस्ता कृतिहरू प्रकाशित छन् । भौकाजी अहिले अमेरिकामा बसोबास गर्छन् । उनको साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘कुम्भकुमारको निद्रा’ शीर्षकको कविता समेटिएको छ । यस कविताले आलस्य र निद्राप्रति विम्बात्मक रूपमा व्यङ्ग्य गरिएको छ । |
आइपुगेँ –
तिम्रो शहर
आँखाभरि
मीठो सपना बोकेर
थाकेको छु –
एकछिन त
निदाउन देऊ ।
सहर सुनसान छ,
घर चिहानजस्तो
हन !
कहाँ अल्झेका होलान्
यहाँका मान्छे ?
कठै !
रातको अन्धकारमा
चुपचाप निदाउन आइपुग्छ
चोर जस्तै
खासखुस आफ्नै घरमा ।
निदाउन देऊ –
अझै मलाई
निद्रा पुगेकै छैन,
सुत्दा सुत्दा थाकेको – म
अझै सुत्न देऊ ।
अब –
भोलि ‘गुड फ्राइडे’
तिम्रो छुट्टीमा
म पनि सँगसँगै
रमाउने भएँ,
धन्य !
रेस्टुराँ ‘ बार ‘
अनि
सङ्गीतको मीठो धुनमा
एकाएक हराउने भएँ ।
सुन न !
ए साँच्चै !
यताका मान्छे
राम्ररी निदाउन
सक्तैनन् रे’ हो ?
मेरो प्रश्नको उत्तरमा
उनी
केवल हाँसिन् मात्रै ..
र
हतारमा बाई’ भन्दै
काममा निस्किइन् ।
मैले –
उनी निस्केको कार
पर नपुगुन्जेली नियालिरहेँ
र
भित्ते घडीको समयलाई
आँखामा टाँसेर
घुर्दै फेरि निदाएँ ।