पेशल आचार्य (विराटनगर ८, बरगाछी, मोरङ, सुपुत्र : शोभा आचार्य र श्यामआचार्य) नेपाली साहित्यका सुपरिचित प्रतिभा हुन् । सडककविता क्रान्ति २०३६ बाट नेपाली कविता क्षेत्रमा उदाएका कवि हुँदा उनका कवितामा अराजक विद्रोही चेतना देखिन्छ हुन । शिक्षणका साथैै पत्रकारितामा समेत हात हाले आचार्य निरन्तर कलम चलाइरहेका छन् । कविता, निबन्ध, समीक्षा बाल साहित्यमा कविता, कथा र निबन्धका मासष्टा आचार्यले एक दर्जन सङ्घसंस्थाका स्मारिका, कार्यपुस्तक, आदिको सम्पादन गरेका छन् आचार्य नेपाली भाषा शिक्षक समाज, अनौपचारिक साहित्यिक मञ्च, एम्नेस्टी इन्टरनेसनल. असल शासन जिल्ला समिति, रामेछाप, नेपाल औरापका सदस्य, मझेरी, पूर्वेली न्यूज, इमेज खबर डट्कम र नेपाल मित लेखक, शब्दाङ्कुर मासिकका नियमित अन्ततिकिार हन । २०३६ सालदेखि साहित्यिक सिर्जना र २०४२ सालदेखि अखबारी लेखनमा संलग्न आचार्यले २०५१ पछि विभिन्न प्रतियोगितामा संलग्न हुँदै पुरस्कृत बन्दै निरन्तर लेखिरहेका छन्। उनका कमिलाको ताँती (बालकवितासङ्ग्रह, २०६०), विद्यालय स्तरीय निबन्धहरू (बाल निबन्धसङ्ग्रह, २०६५. किस्ताको कम्प्युटर (बालकथासङ्ग्रह, २०६६), मनको दैलो खोल (बालकवितासङ्ग्रह, २०७२), जून आमा जून (बालकवितासङग्रह, २०७२), पृथक् अभियानमा आमा र साहित्यकार अशोक सुवेदी (समालोचना २०७२), आधारभूत निबन्ध (बालनिबन्ध २०७५), माध्यमिक निबन्ध (बालनिबन्ध, २०७५), साहित्यकार पवन चामलिङमाथि एकसय एक प्रश्न (२०६८) अन्तर्वातासङ्ग्रहका साथै ब्याक बेन्चर (२०७६) निबन्धसङ्ग्रह गरी १० कृतिहरू प्रकशित छन् । नेपाली आधुनिक कविता परम्परामा विम्ब र विषयचेतमा सतर्क रही वर्तमान विसङ्गतिपूर्ण समाजका वैविध्य वित्रणमा यी प्रतिभा पृथक अस्तित्वसाथ लेखिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा आचार्यको ‘चरणदासहरू’ शीर्षकको कविता समेटिएको छ । यस कविताले नेपालीहरुको चाकरी गर्ने प्रवृत्तिको विरोध गरेको छ ।
-सम्पा
यावत दृश्य/अदृश्य यत्नका पर्वतहरू चढेर
आज्ञाकारी भाव भङ्गिमामा रमाउँदै
ख्वामितका चरण कमलमा
शिरोभूषण राखेर नतमष्तक हुन पाउँदा
पुलकित हुन्छन्
यहाँ चरणदासहरू,
बौद्धिकता विक्री हुने यो देश
इमान्दारितामा सजिलै धमिरा लाग्ने यो परिवेश
कायम मुकायम तिरोहित सत्ताका लागि
चुपचाप चुपचाप
दश औँला र दश गोडाका
पृथक्पृथक् ल्याप्चे लगाएर
जीवनभर पसिनानिश्रित ज्ञान र ऊर्जालाई
क्षणभर मै हाँसीहाँसी
तिलाञ्जली दिन पछि नपर्ने
हामी बुख्याँचाहरू
हाम्रो जति निन्दा गरे पनि त्यो कमै हुन्छ
हाम्रो जति बद्ख्वाइँ गरे पनि त्यो थोरै नै हुन्छ
अरू त अरू परै जाओस्
हामी भ्रष्ट हुने अवसर नपाउँन्जेलसम्म मात्रै
इमान्दार भएका हौं
जुन बेला हामीलाई परिस्थितिले
खुकुलो गरी भ्रष्ट हुने अवसर दिन्छ नि
हामी सव्य/अवसव्य जुनसुकै भाव र मोडेलमा
खुसी खुसीसाथ
भ्रष्टताको जामा सजिलै पहिरिन्छौँ
अनि उतार्न थाल्छौँ जवाफी भाकामा उनै मालिकको आरती
अनि गाउन सुरु गर्दछौं वन्दना रागमा
ख्वामितको जयगान
अनि भटाभट
सारस्वरसहित वाचन गर्दछौं प्रभुको अपार महिमा।
बन्द समाजको लिफाफाभित्र
यसैगरी हाम्रा बराजु माटिए
तत्तत् शैलीले बाजे पनि सकिए
अब बाउको पालो
सायद् तपाईं हाम्रा पालामा पनि
महिमा मण्डनको तौरतरिका
सक्कल बमोजिम नक्कल यही हो।
खुला समाजको व्यवहार हामीलाई पच्न
अझै सदियौँ वर्ष लाग्छ
त्यतिञ्जेलसम्म यहाँ
हाली मुहाली बेफिक्रसँग
उही चरणदासहरूकै हुन्छ
उही भक्तिगान गाउने भाटहरूकै हुन्छ
बिग्बिगी, महामारी र राइँदाइँ,
चरणदासहरू
ख्वामित खुसी पार्नैका लागि
आफ्ना टाउकाहरूको सिँढी बनाएर मालिकलाई
माथि चोटामा पु¥याउँछन्
आफूलाई राजखानी भाग लागेर
तोलामासा फाइदा भयो भने
भार्या, पुत्री र आफन्त त परै जाऊन्
ममतामती माता पनि
मालिकलाई हाँसीहाँसी चढाउँछन्।
सुनिएको सत्य होइन
देखिएको सत्य हो यो
जबसम्म हामी दमित भावनाले बाँच्छौँ
तबसम्म हाम्रा भनिएका मालिकहरू
हाम्रा टाउका र छातीहरूमा यसरी नै
बेहिचक र ताण्डव नाच नाच्छन्।