पुरु लम्साल ( २०३९, नुवाकोट, सुपुत्र : बालकृष्ण र भवानी लम्साल) युवा पुस्ताका सक्रिय साहित्यिक प्रतिभा हुन्। उनको परिचय कवि, गजलकारका रूपमा विशेष हुँदा हुँदै पनि उनी अझ विशे नाटककार एवम् रङ्गकर्मी प्रतिभा हुन्। उनी समीक्षक र नाट्य निर्देशकका रूपमा पनि सुपरिचित छन्। उनका ठूलीका सपनाहरू (२०६७) अर्को ओरालो (२०७१), देश हराएका मान्छेहरू (२०७२) पानीघट्ट (२०७४), नौगेडी (२०७६¬), देउकासी (२०७६) जस्ता नाट्यकृतिहरू प्रकाशित छन्। उनी नाटक लेखनका साथै प्रशिक्षण, अभिनय र निर्देशनबाट पनि आफूलाई पूर्णरूपमा नाट्य विधामा समर्पित गर्दे आएका छन्। उनको आधा जलेको खप्पर (२०६८) गजलसङ्ग्रह उल्लेख्य गजल कृति हो। उनका कविता समकालीन युवा पुस्ताको प्रतिनिधित्व गर्ने गरी रचना भइराखेका छन्। उनले प्रादेशिक एवम् राष्ट्रिय कविता प्रतियोगितामा विभिन्न पुरस्कार पनि प्राप्त गरिरहेका छन्।
साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘अस्वीकृत स्वरहरू’ शीर्षकको कविता प्रकाशित छ। यस कविताले नेपालमा जनचाहनाअनुरूपको परिवर्तन हुन नसकेको चिन्ता प्रकट गरिएको छ। नेतृत्वले जनतालाई बाँडेका सपनाहरू पूरा गर्न नसकेको यथार्थ अभिव्यक्त गरिएको छ। कविता रूपक सामथ्र्य सम्पन्न बनेर आएको छ। मुक्त लयढाँचामा रहेर पनि कविताले प्रयाप्त मात्रामा अन्तसङ्गीत प्रवाह गरेको छ।
-सम्पा
कमरेड !
जिन्दगी भर निको नहुने
घाउ लिएर बाँचिरहेको छु
हुन त केही भएकै होइन
खेत जोतिरहेका बा
हलो मिल्काएर एकाएक दौडिए
समानताको नारा लगाउँदै
र रूपान्तरणको झण्डा फहराउँदै
गए तर फर्केर आएनन्
आयो केही समय पछि सहिद भएको खबर
भएको यत्ति हो।
हुन त केही भएकै होइन
साँझमा बास माग्न आएकाहरूलाई
एक छाक खुवाएको निउँमा
रछ्यानमा भाँडा माझिरहेकी आमालाई
आँखामा पट्टी बाँधेर लगियो
अलि पर बन्दुक पड्केको आवाज सुनियो
र सरकारी रेडियोले समाचार फुक्यो भोलिपल्ट
दोहोरो भिडन्तमा आतङ्ककारीको मृत्यु
भएको यत्ति हो।
हुन त केही भएकै होइन
साँझमा स्कुलबाट फर्किरहेकी बहिनीलाई
यौवनले उन्मत्त ब्वाँसाहरूले
च्याप्प समाते बाटैमा
घिसार्दै पुर्याए कान्लामुनि
र सामुहिक रूपमा लुटियो
बहिनीको कलिलो यौवन
भएको यत्ति हो।
हुन त केही भएकै होइन
दमनको बिरुद्धमा बोल्दा
अत्याचारको प्रतिकारमा उत्रँदा
आँखा जुधाएर प्रश्न राख्दा
दाइको जिब्रो काटिएको मात्रै हो
हात खुट्टा भाँचिएको मात्र हो
आँखा फुटालिएको न हो
अरू त केही भएकै होइन
भएको यत्ति हो।
बाउ मेरा सहिद भएका हुन्
आमा मेरी बेपत्ता पारिएकी हुन्
बहिनी मेरी बलात्कृत भएकी हो
दाइ मेरा अपाङ्ग भएका हुन्।
हो कमरेड !
तिम्रो त केही भएकै छैन।
सुर्यगढी –४, नुवाकोट
purulamsal@gmail.com