नारायण नेपाल (२०२५ पुस ०९ चतरा, सुनसरी, सुपुत्र : भगवती र बालकुमारी नेपाल तथा बिष्णुप्रसाद नेपाल) सिर्जना र अनुवाद क्षेत्रमा परिचित प्रतिभा हुन् । पशुपति बहुमुखी क्याम्पस, काठमाडौँमा प्राध्यापनरत नेपाल अङ्ग्रेजी साहित्यका विद्यार्थी हुन् । उनी नेपाल नागरिक आवाजका सम्पादक पनि हुन् । उनी कर्मशील नेपाल परिवार, अनाम मण्डली, कपन सङ्गीत सरोवर, नेपाल बार, मखमली स्राहित्य, भानु प्रतिष्ठान जस्ता विभिन्न सामाजिक सांस्कृतिक संस्थामा संलग्न छन् । हाँस उठ्ने गीत’ शीर्षकको रचना २०३५ सालमा प्रकाशन गरी साहित्य जगत्मा सार्वजनिक भएका नेपालका सुन्दरीको सबाई, भुइँचालोको सबाई, अजल गजल र गजल मण्डी, मुक्तक मञ्जरी, मुक्तक सरिता जस्ता कृतिहरू प्रकाशित छन् । उनका अङ्ग्रेजी कथा, र रचनालगायत थुप्रै नेपाली फुटकर कविता, गीत गजल र मुक्तकहरू प्रकाशित छन् । उनी शास्त्रीय छन्दका साथै लोक छन्दमा पनि राम्ररी कलम चलाउन सक्छन् । साहित्यसागरको प्रसतुत शृङ्खलामा उनको ‘मान्छेको कहानी’ शीर्षकको शास्त्रीय लयको कविता समेटिएको छ यस कविताले मान्छेका जीवनका उतारचढावलाई समेटेको छ ।
-सम्पा
अरू जीवजस्तो हुँदै हैन, नानी,
अनौठो छ मान्छे र उस्को कहानी
सधैँको छ तिर्खा र टन्टा नजाती
अहो वेदनाले छचल्किन्छ छाती ।
बरै पीर भुल्दै रमेको नि देख्छु
कुरा कुन्तुरामा जमेको नि देख्छु
त्यसैले म भन्दैछु यो कण्ठ तानी
अनौठो छ मान्छे र उस्को कहानी ।
कतै शानमा छन् कतै मानमा छन्
सधैँ चल्छ यस्तै झुटो भानमा छन्
कतै हो कि मेची कतै लाग्छ भेरी
तिनै माझ गङ्गा छुने छन् नि फेरि ।
धनी निर्धनी छन् र छन् जात भिन्न
अनेकौँ अनेकौँ सबै नाउँ लिन्नँ
प्रयासै त हो यो परख्ने जुबानी
अनौठो छ मान्छे र उस्को कहानी ।
छ यो जिन्दगीमा विधाताको पोयो
बुझे प्रीत डोरी चलेसम्मको यो
जसै होस् नचल्ने नभै भात–पानी
अनौठो छ मान्छे र उस्को कहानी ।
-narayannepalabc@gmail.co