पदम विश्वकर्मा
पदम विश्वकर्मा (असोज १४, २०२४, धमिलीकुवा–३, लमजुङ नेपाल, सुपुत्र : बुद्धिराम विश्वकर्मा र जौमाया विश्वकर्मा) नेपाली साहित्यलाई सिर्जना र संगठनबाट सेवा गरिरहेका प्रतिभा हुन् । उनी हाल औरोरा, कोलोराडो, संयुक्त राज्य अमेरिकामा बसोबास गर्छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र मानवशास्त्रका स्तानकोत्तर साथै नेपाली साहित्यमा स्तानक विश्वकर्म र रोजगार तथा व्यवसायमा संलग्न रहे पनि नेपाल रेडक्रस सोसाइटीका विविध पदमा रहेर समाजसेवा गर्नका साथै साहित्यसेवका बहुआयाममा सक्रिय छन् । उनी अनेसास बोर्ड अफ ट्रष्टी, (२०१८–हालसम्म) उपाध्यक्ष पदमा कार्यरत छन् । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (२०१४–२०१६, २०१६–२०१८) को दुई कार्यकालका केन्द्रीय अध्यक्षका साथै यसका महासचिव, शाखा अध्यक्ष आदि भएर काम गरेका सांगठनिक चेतनाका साहित्यकार हुन् । उनी ग्लोबल फोरम, अमेरिका, नासो कम्युनिटी अमेरिका, नासिया (Nepali Association of South East America), ब्लड डोनर्स अमेरिका, रक्की माउन्टेन फ्रेण्डस अफ नेपाल जस्ता विविध संस्थासँग संलग्न भएर नेपाली समाज र जातिको उन्नयनमा लागिरहेका छन् । साहित्य तथा समाजसेवाका लागि डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार (सन्.२०१८) लगायत विविध सम्मान पनि प्राप्त गरेका छन् । उनका शब्द सुमन (कविता संग्रह, २०१४), तमसुक (कथासंग्रह, सन्.२०१९) जस्ता कथा र कविताका कृतिका साथै Word Florets (२०१८) अनुदिन कविता कृति पनि प्रकाशित गरेका छन् । उनको प्रधानसम्पादकत्वमा अनेसास रजतजयन्ती स्मारिका, साहित्य संगम (कोलोराडो, सिर्जनामा नारी जस्ता स्मारिका र पत्रिका र कृति प्रकाशित छन् । उनी अन्तरदृष्टि पत्रिकाका सल्लाहकार र सम्पादक पनि हुन् । उनका सम्पादनमा आएका प्रमुख कृतिहरु अनेसास गजलगंगा, अनेसास गीतमाला, अनेसास कथासङग्रह आदि उल्लेख्य छन् । उनले विविध देशको भ्रमण र अनुभवबाट नेपाली समाज र जातिको उन्नयनमा र त्यसमा पनि साहित्यिक क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुर्याइराखेका छन् । साहित्य सागरको माधव घिमिरे विशेषाङ्कमा उनको एउटा घिमिरेलाई नै विषय र विम्ब बनाएको ‘श्रद्धाञ्जली राष्ट्रकवि’ शीर्षकको गजल रचना समेटिएको छ । -सम्पा.
राष्ट्रका कवि तिमी, जनताका कवि थियौ
माटोका कवि थियौ, मनमुटुका कवि थियौ ।
माटोका कवि थियौ, मनमुटुका कवि थियौ ।
साहित्यका धरोहर, भषा संस्कृतिका पनि
शब्द–शब्द केलाउने मिठासका कवि थियौ ।
लोकलयका कवि तिमी, गीत, गुञ्जनका कवि
राष्ट्रियता एकताको आभासका कवि थियौ ।
घामपानी, नयाँ नेपाल, धर्तीमाता, राष्ट्रमाता
काव्य नाट्य कृतिपिता, हार्दिकताका कवि थियौ ।
अविरल अविच्छिन्न लेखिरह्यौ देश माटो
राष्ट्रियता विगुलसँगै बौद्धिकताका कवि थियौ ।
अमर छौ सबको मनमा, अजर छौ तिमी
श्रद्धाञ्जली नेपाल हैन यो विश्वका कवि थियौ ।