नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।
माधव घिमिरे हामीबाट जति टाढा भए उनका यी हरफहरू त्यति स्मरणीय र गाढा भए । यी र यस्ता अनेक हरफ पढ्दा लाग्छ, नेपाल राष्ट्रले नेपाली माटोको भाषा र भाका बोल्ने राष्ट्रकवि पाएको थियो : माधव घिमिरे । उनले कविता, गीतिनाटक, कथा, निबन्ध जस्ता बहुविधामा कलम चलाए । उनी कवि र गीतिनाटककार दुवै व्यक्तित्त्वमा सबल र सफल छन् । उनले आफ्ना दर्जनौँ सिर्जनाबाट नेपाली माटो, प्रकृति, इतिहास र संस्कृतिका बहुविध पक्ष अभिव्यक्त गरेका छन् । उनको समष्टि सिर्जनशीलताको सर्वाधिक मुख्य पक्ष कविता सिर्जना देखा पर्दछ । उनको यही प्रतिभा सामर्थ्यलाई राष्ट्रले सम्मान गर्यो र राष्ट्रकविको उपाधिले विभूषित पनि गर्यो । तत्कालीन अवस्थामा उनी सबभन्दा उपयुक्त प्रतिभा थिए र उनी आजीवन यो उपाधिमै रहे ।
माधव घिमिरे (वि.सं. १९७६ असोज ७ – २०७७ भाद्र २) नेपाली साहित्यका वरिष्ठ कवि प्रतिभाका साथै विश्वसाहित्यमा अनुवाद गरेर चिनाइनु पर्ने विश्वकवि पनि हुन् । उनी आफ्ना कवितामा राष्ट्रिय चेतनाका साथ सिर्जनाका क्षेत्रमा देखा परेको समय यो शताब्दीको आरम्भतिरै हो । उनको राष्ट्रिय झन्डा कविता २००४ सालमै राष्ट्रिय चेतनाकै कारण पुरस्कृत भएको थियो । त्यसपछि उनले निरन्तर राष्ट्रिय महत्त्वका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र सामाजिक विषयमा कलम चलाएर नेपाली कविता र गीतिनाट्य क्षेत्रलाई समृद्ध बनाए । उनको यही समृद्धशाली सिर्जन सामर्थ्यले नै उनी राष्ट्रकवि व्यक्तित्वको रूपमा सम्मानित बन्न सके ।
घिमिरेका छ कोरी (११७ वटा) बालकवितामा नेपाली बालखेल, नेपाली संस्कृति, नेपाली मौलिक जातीय लय र बहुमुखी राष्ट्रियताको स्वर छ । उनका पाँच दर्जन जति कविताको मूल स्वर नेपाल राष्ट्र र राष्ट्रियताका बिचमा रहेको छ । उनका नयाँ नेपाल, पापिनी आमा, गौरी, राजेश्वरी, राष्ट्र निर्माता, धर्तीमाता, इन्द्रकुमारी, बोराको पर्दा, गौँथली र गजधम्मे गरी नौ खण्डकाव्यमध्ये अधिकांशमा राष्ट्रियता नै छ । उनका शकुन्तला, मालती मङ्गले, विषकन्या, अश्वत्थामा, हिमालपारि हिमालवारि, देउकी, बालकुमारी जस्ता गीतिनाटकहरू राष्ट्रियताका गीत गाउँछन्; राष्ट्रियताकै झाँकी प्रस्तुत गर्छन् । उनका किन्नरकिन्नरी गीतसङग्रहका केही गीतमा प्रेम र जीवनका पक्षसँगै अधिकांश राष्ट्र र राष्ट्रियताका विषय गुञ्जाउँछन् । उनका गद्य रचनामा पनि देशको इतिहास, संस्कृति, कला र समाजको बहुमुखी सुगन्ध छ । राष्ट्रकवि उपाधि राजाले दिएको उपाधिका रूपमा केही लेखकहरूले विवादित अभिव्यक्ति दिए पनि राष्ट्र प्रमुखले दिएको पदवीका विषयमा आज आएर विवाद गरिरहनुको कुनै अर्थ छैन । त्यो पदवी राजाले दिएको भए पनि राष्ट्रपतिले दिएको भए पनि राष्ट्रप्रमुखका हैसियतले दिएको पदवीबारे आज आएर विवाद गरिनु कत्ति पनि सान्दर्भिक छैन । घिमिरेको पात्रता त्यस समयसम्म सही थियो । त्यो उनले पचासी वर्षको ज्येष्ठ उमेर र श्रेष्ठ चेतनाका लागि राज्यका तर्फबाट मान–सम्मान स्वरूप प्राप्त गरेका थिए ।
विश्व सन्दर्भमा हेर्दा राष्ट्रकविलाई विश्वकविसमेत मानिएको देखियो । कुनै कविलाई राष्ट्रले उच्चतम आदर नगरुन्जेल अरू मुलुकका लेखक कवि, समीक्षक, इतिहासकार आदिले खोजीनीति पनि गर्दा रहेनछन् । कतिपय मुलुकमा राष्ट्रकवि र महाकवि पदवीलाई पर्यायवाचीका रूपमा प्रयोग गरेको पनि पाइयो । एउटै मुलुकमा एकभन्दा बढी कविहरू राष्ट्रकवि भएको पनि पाइयो । अब यो बहस र प्रयोग नेपालमा पनि हुन आवश्यक छ । विश्वकविको पहिलो सर्त नै राष्ट्रकवि हुनु हो भन्ने मत र प्रयोग पनि अभ्यासमा रहेको पाइएको छ । राष्ट्रकवि घोषित भएपछि नै कुनै विशिष्ट कविलाई अन्य भाषाका स्रष्टाले चासो दिने, अन्तराष्ट्रिय जगत्ले खोजी र अध्ययन, अनुवाद र विश्लेषण गर्न थाल्ने गरेको पाइयो । यस अर्थमा कुनै राष्ट्रले कुनै विशिष्ट प्रतिभालाई राष्ट्रकविको घोषणा गर्नुलाई आफ्नो भाषासाहित्य र प्रतिभाको अन्तरराष्ट्रियकरण गर्नु पनि देखिन्छ । जसले राष्ट्रभित्रको अन्तरराष्ट्रिय तत्त्वलाई वाणी दिएको हुन्छ । राष्ट्रकविको उपाधि मात्र होइन साझा राष्ट्रिय मुद्दा र सांस्कृतिक मुद्दामा हामीले छाती फराकिलो बनाउन सक्नुपर्छ । राजाका पालामा सुरु भएको परम्परा भए पनि गणतान्त्रिक मुलुकले यस परम्पराको चेतनालाई अझ गरिमामय र विस्तारित बनाएर लैजान सक्नुपर्छ ।
छिमेकी मुलुक भारतमा जातीय र भाषिक समुदायको ऐतिहासिक साझा व्यक्तित्वका रूपमा राष्ट्रकवि मानिएको देखिन्छ । शब्दकोश पल्टाउँदा राष्ट्रकवि शब्दका नेसनल पोयट, महाकवि (ग्रेट पोएट) र पोयट लरेट समानार्थी पदहरू फेला पर्छन् । सूक्ष्म दृष्टिले हेर्दा ‘राष्ट्रकवि र ‘पोयट लरेट’ मा केही फरक पक्ष पनि भेटिन्छन् । जस्तो कि राष्ट्रकवि पोयट लरेट हुने नै भए तर सबै पोयट लरेटले राष्ट्रकवि बन्ने सामर्थ्य राख्दैनन् । महाकाव्य लेख्ने कवि पनि पोइट लरेट नहुन सक्छन् र नलेख्ने पनि सम्प्रेष्यता र गुणवत्ताका आधारमा पोयट लरेट हुन सक्छन्। नेपालमा पोयट लरेट देवकोटाको एकल पदवी भयो । भारतमा अहिलेसम्म आठ जना कविले राष्ट्रकविको पदवी पाएका छन् । उनीहरू सुब्रमण्य भारती, एम गोविन्दा पै, मैथिलीशरण गुप्त, रामधारी सिंह दिनकर, कुवेम्पु, कवि प्रदीप, हरिवंश राय वच्चन र जीएस शिवरुद्रप्पा हुन्।
भारत धेरै ठुलो भाषाभाषीको देश हो र पनि यहाँ राष्ट्रकविलाई सबै भाषाभाषीका लेखकहरूले र सबै बुद्धिजीवीले राष्ट्रकविलाई बौद्धिक चेतनाको प्रतीकका रूपमा लिन्छन् । यस मुलुकका पहिलो राष्ट्रकवि सुव्रमण्य भारती तलिमभाषी स्रष्टा थिए । कन्नड कवि शिवरुद्रप्पाको मृत्यु भएपछि राष्ट्रकविका रूपमा कुनै पोयट लरेट र नेसनल पोयटको अन्तर हामी भारतमा विशिष्ट साहित्यकारलाई दिएका उपाधिबाट पनि बुझ्न सक्छौँ । उनीहरू बाल्मीकि, वेदव्यास, कालिदास, तुलसीदास, रवीन्द्रनाथ टैगोर आदिलाई महाकवि मान्छन् । उनीहरूलाई अङ्ग्रेजीमा अनुवाद गर्दा पोइट लरेट भनेको पाइन्छ । उनीहरू विश्वकवि पनि हुन् र भारतवर्षका गौरवपूर्ण कवि पनि हुन् । उनीहरू देवनागरी लिपिका साझा कवि पनि हुन् । उनीहरूलाई यी लिपिचल्ने वा उनको भाषा बोल्ने मुलुकले राष्ट्रकवि भनेको देखिएन । राष्ट्रकवि नभनिए पनि उनीहरू विश्वकविका रूपमा पूज्य छन् । अलि परपरको अध्ययन गर्दा रुमी अफगानिस्तानका राष्ट्रकवि हुन् । उनी त्यस मुलुकका राष्ट्रकवि भएकाले उनलाई विश्वले चासो लिएर पढ्छ । बङगलादेशका राष्ट्रकवि काजी नजरुल इस्लाम हुन् । चिनियाँहरू आफ्ना कविहरूमध्ये डुफु, लिबेइ, लु सुनलाई राष्ट्रकवि मान्छन् । एसियाली मुलुकहरूमध्ये जापानका मात्सुओ बासो, कोइजुमी याकुमो र मुरासाकी शिकिबु राष्ट्रकवि हुन् । अलि परका उदाहरण खोज्दा लेबनानले खलिल जिब्रान, सइद अकललाई राष्ट्रकविका रूपमा आदर गरेको पाइन्छ । उनीहरू विश्वकविका रूपमा पनि चिनिन्छन् ।
राष्ट्रकवि उपाधि दिने चलन नेपाल र एसियाली मुलुकले मात्र बनाएको होइन । यो युरोप अमेरिकामा अगाडिदेखि चलिआएको छ । उनीहरूले राष्ट्रकवि घोषणा गरेकै कारण सम्बन्धित मुलुकका कविले विश्वप्रसिद्धि पाए र ती मुलुक पनि बौद्धिक रूपमा विश्वमा मानिएका छन् । त्यसैले उनीहरूलाई विश्वले आदरपूर्वक पढ्छ । अङ्ग्रेजी कविमध्ये बेलायतका जेफ्री चौसर, विलियम ब्लेक, विलियम सेक्सपियर, विलियम वर्डस्वर्थ र कलरिज राष्ट्रकवि हुन् । अमेरिकाका वाल्ट ह्विटम्यान, इमिली डिकिन्सन, रोबर्ट फ्रस्ट, ल्याङ्स्टन ह्युज, माया एन्जेलु राष्ट्रकवि मानिएका व्यक्तित्व हुन् ।
राष्ट्रकवि राष्ट्रको साझा चेतनाको प्रतीक हो । फ्रान्सको इतिहासमा कवि मात्र नभई आख्यानकार पनि राष्ट्रकविका रूपमा सम्मानित भएका छन् । भिक्टर ह्युगो, चार्लस बोद्लेयर आदि राष्ट्रकविका रूपमा सम्मानित भएबाट राष्ट्रकवि साझा बौद्धिक चेतना हो भन्ने बुझिन्छ । उनीहरू आफ्नो मुलुकको राष्ट्रकवि र विश्वप्रसिद्ध साहित्यकारका रूपमा पनि देखापर्छन् । यी कविलाई देशअनुसार पाँच वर्षका लागि, दश वर्षका लागि वा आजीवन राष्ट्रकविको उपाधि दिएका उदाहरणहरू भेटिन्छन् । हामीले तीमध्ये कुनै एउटा मोडल अपनाएर घिमिरेलाई दिइएको उपाधिको परम्परालाई निरन्तरता दिन सकिन्छ । माधव घिमिरको व्यक्तित्व त्यसै अग्लिएको र चुलिएको होइन ? उनी अग्लिँदै जाँदा काव्य गहिराइमा उतिनै प्रतिशत डुब्दै र उति नै प्रतिशत चुलिँदै पनि गएका हुन् । उनी कला र चेतनाको सघन अनुभूतिको उपल्लो चुली नापेर मात्र अग्लिएका र चुलिएका हुन् । उनले बयान, वर्णन र विवरणको छाया कवितामा मात्र होइन, गीत र गीतिनाटकमा पनि पर्न दिएनन् । उनी साहित्यकार मात्र होइन चिन्तन र कलाका पनि उपल्लो साधक हुन् । उनले सिर्जनाका क्रममा आफ्नो भावलाई शब्दशिल्पमा पूर्ण रूपमा समाहित नहुन्जेल निरन्तर लेख्नुमेट्नु, लेख्नुमेट्नु र फेरि लेख्नुमेट्नुको परिष्कार चेतनालाई व्यवहारत: लागू गरेर शब्दहरू कही कतै नबिझाउने कोमल र रसात्मक बनाएर प्रख्यात कवि बन्न सकेका प्रतिभा हुन् । यो पाटो उनको राष्ट्रकवि र सम्प्रेष्य विश्वकवि बन्ने उनको पात्रतालाई उजिल्याउने प्रमुख पक्ष हो ।
घिमिरेको संस्कृत पृष्ठभूमिबाट उठेको चेतनाचुली, अग्रज कवि लेखनाथ पौडेलको शास्त्रीयता र देवकोटाको बेजोड ज्ञान एवम् फराकिलो चेतना प्रवाहमा उठेको स्वच्छन्दतावादको अर्को चुली बनेर भावमा देवकोटाको शैलीमा भानुभक्तीय लौकिक भषा र परिष्कारमा लेखनाथपथका उत्तराधिकारी युगनिर्माता कवि बन्न सके । सूक्ष्म दृष्टिले हेर्दा उनी संस्कृत कवि कालीदासबाट बढी नै प्रभावित भएको पक्ष उनका रचना र अन्तर्वार्ताहरूबाट खुल्छ । सानोमा पनि सालिग्राम शैलीको आफैँमा पूर्ण र सङ्लोपन, लोकलयको कोकिल ध्वनि, लोकबिम्ब, पौराणिक, ऐतिहासिक विम्ब, ग्रामीण सन्दर्भ र जीवन भोगाइमाथिको बेदाग अनुभूति, निरन्तर नदी प्रवाहको शालिग्राम निर्मांणमुखी प्रवाहले उनी नेपालीका मात्र होइन, विश्वकवि सामर्थ्यका प्रतिभा हुन् । उनलाई छिमेकका विश्वकविका साथै रवीन्द्रनाथ ठाकुर, अङ्ग्रेजी साहित्यका मिल्टन, गेटे, सेली, टेन्निसन आदिसँग तुल्य कविका रूपमा चिनाउन सकिन्छ । यसका विषयमा विश्वविद्यालयका प्राध्यापक र शोधकर्ताहरू बोल्ने नै छन् ।
नेपालका सन्दर्भमा अघोषित रूपमै भानुभक्त, देवकोटा, लेखनाथ, सम आदि पोयट लरेटका उचाइका कवि हुन्। हामीले आजसम्म नेपाली जातीयकवि भानुभक्त र बौद्धिक एवम् विराट कवि देवकोटालाई विश्वकविका रूपमा चिनाउन सकेका थियौँ । यी उपाधि राज्यले दिए नदिए उनीहरू नेपाली जातिका साझा प्रतीक बनेको पक्ष नेपालीका रोमरोममा विस्तारित छ । यस शृङ्खलामा अब राष्ट्रकविको उपाधिले नेपालको राष्ट्रकविका साथै विश्वकविका रूपमा विस्तार पाएको अवस्था घाम जत्तिकै छर्लङ्ग छ । अब नेपालले राष्ट्रकविको उचाइ दिन मिल्ने माधव घिमिरे जतिको अर्को कवि पात्र खोज्न राज्यले सक्नुपर्छ । नभए त्यस्तो पात्र निर्माणमा राज्यले नै सघाउनुपर्छ । हाम्रो साहित्य पहिचानका नाममा, अन्य भाषाका साहित्यको सिकोका नाममा र अन्य दर्शनहरूका अनुयायीका नाममा देश र नेपाली जातीय उचाइविहीन बनिरहेको आभास हुन थालेको छ । यो विषय नेपाली राष्ट्रियता र जातीय एकताका लागि निकै पेचिलो बनिरहेको छ । यो विषयमा आधिकारिक विश्वविद्यालयका प्राध्यापकहरू, एकेडेमीका प्राज्ञहरू, विशिष्ट लेखक र विद्वान्हरूबिच बहस गरेर घिमिरे पछिको उत्तराधिकारी खोज्ने वा नखोज्ने निर्क्योल गर्न ढिला गर्नु हुँदैन । यस्तो विषयको निर्क्योल गर्दा २००४ सालमा पुरस्कृत राष्ट्रिय झन्डा कवितादेखि विकसित हुँदै आएर छ दशक लामो थप अथक निस्वार्थ साधना र समर्पणबाट घिमिरेले पाएको राष्ट्रकवि उपाधिलाई उपहास गर्ने गरी नभई अझ गौरवमय बनाउने गरी प्रतिभा छनोट गरिनुपर्छ । कवि नभए आख्यान, नाटक वा निबन्धको प्रतिभा नै सही तर देशलाई विश्वामा चिनाउने प्रतिभा छानिनुपर्छ । घिमिरे आजसम्मको नेपाली राष्ट्रियताका साझा नेपाली विम्ब हुन् । अब अर्को राष्ट्रकविको खोजी गर्दा यस्तै नेपाली साझा विम्ब र विश्वकवि सामर्थ्यको विप्रतिभाको खोजी हुन आवश्यक छ ।
साहित्य सागरले घिमिरेको २०२ औँ जयन्ती पारेर उनी विशेष सामग्री पोस्ट गरेर उनको महान् सर्जक व्यक्तित्त्वलाई सम्मान गरेको छ । उनले हामीलाई छोडेर गएको धेरै भएको पनि छैन तर अब शोकभन्दा पनि उनका कृतिको पठन र उनका कृतित्वको स्मरण गर्नु सान्दर्भिक हुन्छ भन्ने हाम्रो दृष्टिकोण हो । हामीलाई विश्वास छ आज साहित्य सागरमा पोस्ट गरिएका सामग्रीले घिमिरेलाई चिन्न र अध्ययन अनुसन्धान गर्न अझ सघाउँने छन् । साहित्य सागरका तर्फबाट राष्ट्रकवि घिमिरेप्रति हार्दिक श्रद्धा सुमन कवि घिमिरेकै एक पङ्क्तिसाथ :
कविबाहेक अर्काले जान्दैन कवि वेदना
गर्भिणी–वेदना केको ? जान्दथी नवयौवना !
Post Views: 89