-ज्ञानेन्द्र गदाल
डेन्भर, कोलोराडो ।
डेन्भर, कोलोराडो ।
सिमानामा हाम्रो माटो मिच्न नखोज
छिमेकीलाई जथाभावी थिच्न नखोज |
लिम्पियाधुरा लिपुलेक र कालापानी माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज |
==
विश्वभरि मानवताको रक्षा गर्ने हामी
वीरताको नाम कमाइ चम्किएका हामी
गोर्खालीको सन्तति हौँ सबैका हौँ मित्र
गिद्धे दृष्टि पर्न दिन्नौं, मेची-काली भित्र |
सुर्यलाई हत्केलाले छेक्न नखोज
हाम्रो माटो आफ्नो पारि चेप्न नखोज
ताप्लेजुङ्गको फाटक अनि, टनकपुर माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज |
==
कसले दियो तिमीलाई, हाम्रो कालापानी
तिम्रो नक्शाभित्र किन, पार्यौ जानी-जानी
बेच्ने को हो तिनलाई पनि, नाङ्गेझार पार्छौं
आफ्नो देशको सिमानामा काँडेतार बार्छौं |
नेपालीलाई बिना कारण हेप्न नखोज
हाम्रो माटो हडेपेर जोत्न नखोज
सुस्ता, महेशपुर अनि, मानेभंज्यांग माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज |
==
हिमाल पहाड तराइ मधेश सबै उठ्नुपर्छ
देशको सीमा जोगाउन हामी जुट्नुपर्छ
बर्षौं देखि मिचिएको हाम्रो देशको माटो
एक-एक हिसाब गरि सबै फिर्ता लिन्छौं |
सिमानामा हाम्रो माटो मिच्न नखोज
छिमेकीलाई जथाभावी थिच्न नखोज |
लिम्पियाधुरा लिपुलेक र कालापानी माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज |
==
( शब्द रचना ज्ञानेन्द्र गदाल , संगीत चेतन सापकोटा स्वर यम बरालको)
-ज्ञानेन्द्र गदाल
डेन्भर, कोलोराडो ।
हिउंको शहर (गीत)
बाटो सेतै माटो सेतै, सेताम्मे शहर
मन खोली हिउँ खेल्ने सबैको रहर
आऊ माया सुख-दुख, संगसंगै काटौंला
हिउँ फुल्ने यो शहरमा, पिरती साटौंला |
तल तल बग्दै जाने, हिमचुलीको पानी
त्यसैगरी बग्दै जाने, मान्छेको जवानी
आँखाभरी रंगी-चंगी, फुलेको चाहना
हांसी हांसी पुरा गरौँ, देखेको सपना |
बाटो सेतै…….
खोला-नाला माटो उही, हिमाल उस्तै-उस्तै
घाम जून धर्ति-आकाश, सबै उस्तै-उस्तै
दुलहीमा मारियाले लाएको भेष झैँ
हिउँको टोपी लगाएर, उभिएको देश झैं ।
बाटो सेतै…..