सरूभक्त (वि.सं. २०१२ भाद्र) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको वास्तविक नाम भक्तबहादुर श्रेष्ठ हो । जनको जन्म बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठका सुपुत्रका रूपमा भएको हो । उनको शिक्षादीक्षाको सुरुवात तत्कालीन नेपाल आदर्श विद्यालय –हाल : गण्डकी बोर्डिङ स्कुल) बाट भएको र त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पसबाट एम. एसम्म अध्ययन गरेका हुन् । उनी कुनै जागिर र अन्य पेसामा नलागी नेपाली साहित्यको सेवामा निरन्तर समर्पित प्रतिभाका रूपमा सुपरिचित छन् । उनी मूलत: नेपाली साहित्य जगत्मा आख्यानकार नाटककार र कविका रूपमा परिचित छन् । त्यसमा पनि उनको परिचय उपन्यासकार, नाटककार, कथाकार तथा कविका रूपमा प्रवल देखिन्छ । उनले पागल बस्ती उपन्यासका लागि २०४८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । उनका पागल बस्ती, तरूनी खेती र चुली उपन्यास सर्वाधिक चर्चित छन् । उनी कास्की जिल्लास्थित पोखराको बागबजारमा जन्मिएका र प्राय: पोखरालाई नै कर्मभूमि बनाएर मोफसलबाटै नेपाली साहित्यको उन्नयनमा लागिरहेका प्रतिभा हुन् । उनी सिर्जनाका आधारमा कविता, आख्यान र नाट्य विधामा उत्तिकै उचाइका साथ कलम चलाउने प्रतिभा हुँदा उनलाई बहुमुखी प्रतिभाका रूपमा चिन्न सकिन्छ । उनलाई उपन्यास परम्परामा भने प्रयोगशील/प्रयोगवादी उपन्यासका रूपमा चिनिन्छ । उनले कविता र मुक्तक सिर्जनामा पनि नवीन प्रयोग गरिरहेका देखिन्छन् । उनको पहिलो रचनाका रूपमा वि.सं. २०३४ मा आह्वान साप्ताहिकमा ‘मलाई दुइटा सूर्य देऊ’ शीर्षकको कविता प्रकाशित भएको थियो । उनको पहिलो प्रकाशित कृति बन्द खामभित्र (मुक्तक, २०३५) हो । उनका हजार बुद्धहरू (२०६१) र प्रेमयात्रा (२०६७) जस्ता महत्त्वपूर्ण मुक्तकसङ्ग्रहहरू प्रकाशित छन् । उनका मुक्तकमा समकालीन समाजका बहुमुखी विशेषता अटाएका हुन्छन् । अन्य प्रकाशित कृतिहरू हुन् :
– बन्द खामभित्र (मुक्तकसङ्ग्रह, बि.सं. २०३५) मान–सम्मान, पदक उक्त विविध कृतिका स्रष्टा सरुभक्तको साहित्यसागरको प्रस्तुत शृङ्खलामा तीनवटा मुक्तक रचना समेटिएका छन् । यी रचनाले पनि समसामयिक समस्याहरूलाई नै केन्द्रमा राखेर तिनमाथि व्यङ्ग्य गरिएको छ । – सम्पा. |
१.
नसोध कसैले छानाछानामा काग किन कराउँछ
भूल कस्को हो प्रकृतिको ? परेवा किन डराउँछ
डार्विनले भनेझैँ अस्तित्वका लागि सङ्घर्षै त होला
सरम हराएको देशमा नैतिकता पनि हराउँछ ।
२.
जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो चाला छ
माफ गर गैँडा, अचेल मान्छेको जीउमा तिम्रो छाला छ
यहाँ तिनले के के खाए बयान गरेर के साध्य छ र
भरिएर हैन रित्तिएर ढुकुटीमा बडेमानको ताला छ ।
३.
सगरमाथाको उचाइमा आज अरू उचाइ चढेको छ रे
डढाउन चाहने आगो पनि यहाँ आफै नै डढेको छ रे
महान अनि गौरवपूर्ण भनिने हाम्रो देशमा अचेल
भेडाच्याङ्रग्रा कि सांसद ,किनबेचको खतरा बढेको छ रे ।