शिव अधिकारी (इलामे जेठो) (२००९ साल वैशाख १९, माइ न.पा. १०, इलाम, सुुपुत्र : विष्णुमाया र नन्दिकेशर अधिकारी) नेपाली साहित्यका गजल र मुक्तक विधामा परिचित प्रतिभा हुन् । उनले इलाममा जन्मिएको र परिवारको ज्येष्ठ सन्तति हुँदा आफ्नो नाम साहित्यिक क्षेत्रमा ‘इलामे जेठो’ राखेका छन् । यथार्थता (२०६९) गजलकृति मार्फत सार्वजनिक भएका अधिकारीका धरतीको माटो (२०७१) गजलसङ्ग्रह, बुकी फूलको माला (२०७२), झटारो (२०७३), भद्रगोल (२०७४) जस्ता मुक्तक कृतिहरु प्रकाशित छन् । उनको कलम कविता, गीत, गजल र केही निबन्ध सिर्जनामा विस्तारित छ । अधिकारी निवृत्त शिक्षासेवी हुन् । उनले निवृत्त जीवनमा एकपछि अर्को गजल र मुक्तकका कृति प्रकाशन गरिरहेका छन् र निरन्तर लेखिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको घात शीर्षकको मुक्तक समेटिएको छ । यसमा मानिसलाई झुक्याएर घाट गर्ने प्रवृत्तिको मुखमा राम र बगलीमा छुरा लोकोक्तिका साथ प्रस्तुत गरिएको छ ।
– सम्पा. |
सामु परुञ्जेलसम्म मिठा मिठा बात गर्छन् ।
पत्याउनै पर्ने जस्तो अनावश्यक साथ गर्छन् ।
मुखमा राम, बगलीमा छुरा लुकाएर
पर्दापछि भएपछि नसोचेको घात गर्छन् ।
माई नगरपालिका-१०,लुम्बाक, इलाम।