दुर्गाकिरण तिवारी “ क्षितिज “ (कास्की पोखरा महानगरपालिका वडा न. ३२ राजाको चौतारा, हाल काठमाडौ ) नेपाली कविता विधामा निरन्तर कलम चलाइरहेकी प्रतिभा हुन् । उनको साहित्यिक र खेलकुद क्षेत्रमा विशेष रुचि देखिन्छ । उनका नचुमेको क्षितिज (कविता सङ्ग्रह २०७४), नजरभरि माछापुच्छ्रे (मुक्तकसङ्ग्रह २०७६) प्रकाशन भइसकेका छन् भने नीलगगनको अँगालोमा (कवितासङ्ग्रह) प्रकाशनको तयारीमा रहेको छ । यहाँ उनका चार ओटा मुक्तक समेटिएका छन् । यी मुक्तकले समसामयिक बहुमुखी क्षेत्रका विसङ्गतिहरूको पर्दाफास गरेका छन् ।सम्पा. |
विज्ञ
विज्ञहरू छिद्र भ्वाङ छेकिदिनुहुन्छ, वाह भन्नुहुन्छ
अति उदारभावले आँत सेकिदिनुहुन्छ, वाह भन्नुहुन्छ
फोस्रो मान सान राखिदिन अनेकौं कष्ट उठाउँदै कसै
धर्मराएका खुट्टा आफैँ टेकिदिनुहुन्छ, वाह भन्नुहुन्छ ।
बिडम्बना
बिडम्बना मात्र छ सम्बन्ध धनको तुलोमा हाल्न थाले
उनैको चुलो हमेसा चाकरीका गुणगानले बाल्न थाले
मात्र अघिपछि फाइदा र स्वार्थको दैलो देख्नेहरू जति
ईमान–जमान स्वाभिमान बेची झुटलाई अंगाल्न थाले ।
अपुरो माया
मेरो मुटु भन्छौ र त तिम्रै हर सासमा धड्किएकी छु,
सम्झन्छु यता, उता तिम्रो आभासमा खड्किएकी छु,
जब मौन हुन्छौ आँधी चल्छ मनमा क्यारुँ म प्रिय !
अपुरो मायाको प्यासले अत्यासमा छड्किएकी छु ।
मायाको रङ
तिम्रो तस्वीर आँखामा छाइसकेपछि थाहा भो
हो ढक्ढकाउन मुटुमै आइसकेपछि थाहा भो
बहुलाउँदै हिँड्ने बनायौ दुष्ट पापी किन ? यसरी
मायाको नमेटिने रङ्ग लाइसकेपछि थाहा भो ।।