लेखक
दिव्य गिरी ( २०११ कार्तिक ७ गते, सुपुत्र : भरत गिरी र मिनु गिरी, ललितपुर, टीकाथली) नेपाली साहित्यमा सुपरिचित प्रतिभा हुन् । त्रिभुवन विश्वविद्यालय आर्थिक विकास तथा प्रशासनमा प्रशासकका रूपमा राष्ट्रसेवा गरी सेवानिवृत्त भएका गिरी अहिले सिर्जनामै केन्द्रित छन् । उनको पहिलो कथा २०३७ मा पुर्वाद्र्ध पत्रिकामा ‘खेल” शीर्षकमा प्रकाशन गरेका थिए । कथा प्रकाशनबाट नेपाली साहित्य क्षेत्रमा प्रवेश गरेका गिरीकाका कविता, मुक्तक गजल र कथाका विविध कृतिहरू प्रकाशित छन् । उनका कङ्काल वस्ती (२०३८) र स्वप्निल शिविर (२०६४) मुक्तकसङ्ग्रह, सागर लहर किनार (२०५४) गजलसङ्ग्रह, धुनी तापेर (२०६१) हाइकुसङ्ग्रह जस्ता कृतिहरू प्रकाशित छन् । आख्यानतर्फ लघुकथा सिर्जनाबाट सार्वजनिक भएका गिरीका अनामिका (२०६१) र भेडी गोठ र भेडो २०७३) लघुकथाकृतिहरू प्रकाशित छन् । गिरीले सौरभ पत्रिकाको सम्पादन (२०३७) गर्नका साथै दुर्गामान सिंहका गीत भजन (२०६१) कृतिको सम्पादन गरेका छन् । गिरीले अन्तराष्ट्रिय कथाप्रतियोगिता र गोरखापत्र संस्थानबाट आयोजित राष्ट्रिय लघुकथा प्रतियोगितामा प्रथम भई पुरस्कार प्राप्त गरेका छन् । उनी समसामयिक विषयवस्तुमा चोटिला मुक्तक रचना गर्छन् । उनी नेपाली मुक्तक परम्परामा प्रतिनिधिमूलक मुक्तककारका रूपमा चिनिन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनका दशवटा मुक्तक प्रकाशन गरिएको छ । यी मुक्तकले समसामयिक बहुमुखी पक्षप्रति व्यङ्ग्य गरेका छन् । -सम्पा. |
१.
लाग्छ यो जिन्दगी पनि रित्तो क्यानभासजस्तो
लाग्छ यो जिन्दगी पनि साँझको आकाशजस्तो
सधैँ हार–जीतको पछि लाग्दालाग्दा जीवन
लाग्छ हरूवा जुवाडेले फ्याँकेको तासजस्तो ।
२
सधैँ गोधुलीमा जलेको सगर भो’ जिन्दगी
कहिले बस्ती नबसेको बगर भो’ जिन्दगी
मनभित्र अधुरा चाहनाहरू उरालेर
सधैँ किनारसँग जुध्ने लहर भो’ जिन्दगी ।
३
यो जीवन कहिले हार हो, कहिले जीत हो
यो जीवन कहिले धोका हो, कहिले प्रीत हो
हार, जीत, धोका, पिरती जे जे भए पनि
यो जीवन कर्कलाको पातमाथिको शीत हो ।
४
जिन्दगीमा बिपनाले पनि सधैँ छलेकै छ
जिन्दगीमा सपनाले पनि सधैँ छलेकै छ
लाग्छ, जिन्दगी छलहरूकै घेराबन्दीमा छ
जिन्दगीमा आफन्तले पनि सधैँ छलेकै छ । .
५
जीवन के हो ? भुइँमा झरेको फूल हेर
जीवन के हो ? समारोहपछिको तूल हेर
दुई दिनको जिन्दगी पानीको फोकासरि हो
थोत्रो भएर चुँडिएको झोलुङ्गे पुल हेर ।
६
हिँड्दा हिँड्दै उसै भुलेको बाटो भो’ जिन्दगी
रगत पसिनाले भिजेको माटो भो’ जिन्दगी
आफ्नै चाहना र सपनाहरूबाट ठगिँदा ठगिँदा
लुकीलुकी हिँड्नु पर्ने चोरबाटो भो’ जिन्दगी ।
७
कसैलाई यो जिन्दगी खोलाको किनारजस्तो
कसैलाई यो जिन्दगी हिउँदको बगरजस्तो
जिन्दगीको परिभाषा अलग अलग हुन्छ
कसैलाई जिन्दगी गोधुलीको सगरजस्तो ।
८
कति हेर्नु भत्केका मन्दिर अनि घरहरू
कति हेर्नु पीडामा आँसु झरेका नजरहरू
लाग्छ मनभित्र भूकम्प बाहेक अरू छैन
कहिले होलान् हराभरा खण्डहरहरू ।
९
लाखौँ घर र सयौँ मन्दिर ढलाएर गयो
मान्छेको मन मस्तिष्क गलाएर गयो
प्रकृति किन यसरी मान्छेको सत्रु बनेको ?
भूकम्पले मान्छेको बिपना जलाएर गयो ।
१०
मरी जाने जिन्दगी हो, झरी जाने होइन
दु:ख देखी डराएर भागी जाने होइन
दुई दिनको जिन्दगी, दु:ख–सुख बराबर
रित्तै हात आएको, केही लिई जाने होइन ।