स्रष्टा स्वयमद्वारा प्रथम पुरुष शैलीमा सिर्जना गरिने स्वयमको जीवन कथा नै आत्मकथा हो । यसलाई सोझो भाषामा आफ्नै जीवनमा आधारित कथा भन्न सकिन्छ । शाब्दिक अर्थमा ‘आत्म’ र ‘कथा’ दुई भिन्न पदको मेलबाट बनेको यो व्युत्पन्न पदको साहित्यिक अर्थ निकै व्यापक र स्थापित बनिसकेको छ ।
लेखकले आफ्नो जीवनकथालाई लेखक स्वयम्ले लेखेको रचना विशेष हुँदा यसलाई आत्मकथा वा आफ्नै कथा भनिएको हो । यसलाई आधुनिक एवम् उत्तरआधुनिक साहित्यका उपविधाहरूमध्ये विशिष्ट उपविधाका रूपमा लिइन्छ । अङ्ग्रेजी साहित्यमा प्रयोग हुने गरेको अटोबायोग्राफीको रूपलाई नै नेपालीमा आत्मकथा भनिन्छ । यसलाई आत्मजीवनी, आत्मसंस्मरण, आत्मचरित्र, आत्मकहानी, आत्मलाप, संस्मरण आदि फरक फरक नामले चिन्दै चिनाइँदै आइएको छ ।
नेपाली साहित्य परम्परामा पछिल्लो दशकमा आत्मकथा लेखन र प्रकाशनको लहर निकै बाक्लो चलेको छ । यो विधा केही लेखकका कृतिलाई लिएर ढाँट, छल र आत्मप्रशंसाको पुलिन्दाका रूपमा बदनाम बनिरहेको छ भने केही लेखकका कृतिका उदाहरणबाट आदर्श एवम् अभिप्रेरक विधाका रूपमा स्थापित भइरहेको छ । यसको मूल आदर्श अभिप्रेरक र प्रामाणिक लेखन नै हो ।
लेखक स्वयम्ले आफ्नो जीवनकथा आख्यानात्मक र केही निजात्मक शैलीमा प्रस्तुत गर्ने विधा विशेष हुँदा यो विधा सजिलो र जटिल दुवै विधामा पर्दछ । लेखकले आफ्नै बारेमा लेख्ने हुँदा विषयवस्तुका बारेमा गहन अध्ययनको खाँचो नपर्ने यसको सरल पक्ष हो भने जीवनका सत्य तथ्यलाई नलुकाई र स्मरणशाली ढङ्गले बाहिर ल्याउनु यसको जटिल पक्ष हो । आत्मकथा विधाका प्रमुख तत्त्वहरूमा आख्यानात्मकता, जीवनमा भोगेका घटना सिलसिला, प्रभावोत्पादक गद्यमयता, रोमाञ्चपूर्ण भाषिक प्रस्तुति, अनुभूतिका सूक्ष्म कथायोजना, सरल र सरस अभिव्यक्ति, घटनाको कलात्मक प्रस्तुति जस्ता जस्ता पक्षहरू पर्दछन् । यस विधाले आख्यान र निबन्ध विधाका तत्वहरूलाई आफूमा संयोजित रूपमा समाहित गर्न सक्छ ।
नेपाली साहित्य परम्परामा केदारमणि आदीको आफ्नै कुरा (२०३४), दिलबहादुरको मेरा वितेका दिनहरू (२०३४) आदिलाई विधा पहिचानपछिका आत्मकथा मानिँदै आएको छ । नेपाली साहित्य परम्परामा विश्वश्वरप्रसाद कोइरालाका आफ्नो कथा (२०४०), जेल जर्नल (२०५४) र आत्मवृत्तान्त (२०५५) बढी पढिएका आत्मकथात्मक कृतिहरू हुन् । आत्मकथा आख्यानका कथा र उपन्यास जस्तै विस्तृत वा सङ्क्षिप्त दुवै आयतनमा रचना गर्न सकिने विधा विशेष हो । नेपाली आत्मकथा लेखन परम्परामा लघु र प्रबन्धात्मक दुवै किसिमका लेखन प्रयोग हुँदै आएका छन् ।
आत्मकथाको मूल धर्म लेखक आफैले आफूलाई पात्र बनाएर कथात्मक रूपमा व्यक्तत गर्ने प्रक्रिया हो । यसका तत्त्वहरू न आख्यानसापेक्ष मात्र हुन्छन् न निबन्धसापेक्ष मात्र हुन सक्छन् । दुवै विधाका तत्वलाई समाहित गर्न सक्ने खालका तत्त्वलाई गर्भित गर्ने हुँदा यस विधाप्रति निबन्धका पाठक र आख्यानका पाठकहरूको रोजाई र रुचि बढिरहेको छ ।
आत्मकथा मूलतः लेखककै कथा हो । यसमा लेखकले आफ्नो कथासँगै अन्य व्यक्ति, आफन्त, सहकर्मी, प्राणी, निर्जीव वस्तु, यन्त्र, प्रकृति आदिको कथा पनि समेट्न सक्छ । त्यस्ता पक्षलाई आत्मपरक दृष्टिकोणमा प्रथमपुरुष दृष्टिबिन्दुमै कथा निर्माण गर्न सक्छ तर त्यो आत्मकथा होइन । त्यो आत्मकथा नभएर लेखकको प्रतिभा र उसले आधार सामग्रीका रूपमा पाएका ज्ञान र प्रस्तुतिको कलात्मक संवेगका आधारमा समाहित हुने पक्ष मात्रै हो । मूलतः आत्मकथा म पात्रकै कथा हो । अन्य पक्ष आत्मकथाले लिँदै नलिने होइन तर तिनलाई लेखकै कथाका केन्द्रीयतामा अन्तघुर्लन गरेर लिएको हुन्छ ।
आत्मकथा जोसुकैले लेख्न सक्छ । समाजले नचिने–नजानेका र नदेखेका व्यक्तिको कथा पनि समाज बोधका लागि आउन आवश्यक छ । तर अहिलेसम्मको परम्परा र अभ्यासलाई हेर्दा वैयक्तिक भन्दा सामाजिक जीवनका साहित्य, संस्कृति, कला, राजनीति, दर्शन, अध्यात्म, उद्ययमका साथै ज्ञान विज्ञानका विषय क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिका आत्मकथा नै बढी प्रचलनमा आएका छन् । लेखक स्वयम् भोक्ता र कथयिता बनेर लेखिने विधा हुँदा यसका पाठकले स्वतन्त्र रूपमा पात्र चयन गर्न सक्ने सम्भावना रहन्छ ।
सूक्ष्म दृष्टिले हेर्दा आत्मकथा कसैका जीवनको विवरण मात्र नभएर पाठकका निम्ति प्रेरणाप्रद, विचारोत्तेजक, कर्म उत्तेजक र त्यत्तिकै रोचक पनि हुनुपर्ने अपेक्षा गरिन्छ । सम्बन्धित क्षेत्रका अनुरागी, नवप्रवेशी, नव प्रतिभा र सहभागीहरूका लागि उत्साहवफूक, अभिप्रेरक, प्रत्युत्पादक र शिक्षाप्रद पनि हुन सक्दछ । यसकमा कल्पना गौण रहने हुँदा पाठकले उक्त विविध पक्षका साथै व्यक्तिका जीवनचक्रको पनि राम्रो ज्ञान पाउन सक्छन् र लेखक स्वयं नै कथाको नायक बन्ने हुँदा ऊ परिचित रहेछ भने लेखिएको अंश र चिनिएको पात्रलाई पाठकले दाँजेर हेर्न र विश्लेषण गर्न पनि पाउँछ । यस करण पनि आज आत्मकथा विधा स्थापित बनिरहेको छ ।
नेपाली साहित्य परम्परा र विश्वसाहित्य परम्परामा पनि आत्मकथा लेखाउनेहरू पनि छन् । लेखाउने जमात को पनि कमी छैन तर लेखक सामथ्र्य भएका मानिसका आत्मकथा जस्तो ती आत्मकथाहरू चर्चामा आउन सकेका छैनन् । आत्मकथा लेखाउने परम्परा आपूm लेखनमा सक्षम नभएका तर अन्य क्षेत्रमा विशेष व्यक्तित्व बनाएका व्यक्तिहरूका सवालमा लागू हुँदै आएको लेखन हो । यस्ता व्यक्तिले लेखन सामथ्र्य भएका कसै अज्ञात वा ज्ञात लेखकमार्फत श्रुति लेखनका माध्यमबाट आत्मकथा लेखाउन सक्छन् । यस्ता कृतिहरूका आधारमा आत्मकथाको नायकलाई लेखकका रूपमा मूल्याङ्कन गर्न भने कठिन हुन्छ । आत्मकथा यसरी लेखिनु भन्दा जीवनीका रूपमा लेखिनु सान्दर्भिक हुन्छ । सामान्य लेखन सामथ्र्य भएका व्यक्तिले आफै लेखेको आत्मकथात्मक अनुभूतिलाई लेखन सामथ्र्यसम्पन्न लेखकले भाषिक शिल्पगत रोचकता र साहित्यिक मूल्य स्थापनका लागि परिमार्जन, परिवफून र सम्पादन गरेर पनि आत्मकथा बनाएको देखिन्छ । यहाँ पनि लेखक बढी कि सम्पादक वा परिमार्जक बढी हो भनी ठम्याउन भने कठिन हुन्छ ।
इन्साइक्लोपिडिया ब्रिटानिकाका अनुसार तृतीय परूष दृष्टिबिन्दुमा पनि आत्मकथा लेखिन सक्छ । यसरी तृतीय पुरुष दृष्टिबिन्दुमा आत्मकथा लेखिन्छ भने त्यसमा अक्षरशः श्रुतिलेखन गरिने र गराउने स्वयं आत्मकथाको नायक हुनुपर्छ । ऊ कुशल वक्ता वा लेखक हुनुपर्छ (पृ. ८५५) । आत्मककथा तृतीयपुरूष दृष्टिबिन्दुमा लेख्न सकिए पनि यसका लागि साहित्यिक मूल्यसापेक्ष विशेष लेखन कलाको आवश्यकता देखिन्छ ।
आत्मकथा र संस्मरणको अन्तरसम्बन्धलाई हेर्दा संस्मरण आत्मकथाकै स्वरूप र एक अंश हुन सक्छ । संस्मरण प्रबन्धात्मक हुने भए पनि आत्मकथा जस्तो पुष्ट, निरन्तर प्रवाहित हुन सक्ने श्रृङ्खलाबद्ध र पूर्ण आकृातिमा रहन सक्ने सम्भावना कम रहन्छ । आत्मकथा स्वकीय जीवनी हुने हुँदा यसको सम्बन्ध जीवनीसँग पनि त्यतिकै निकट हुन्छ । जतिसुकै मिहिनेत गरे पनि परकीय जीवनी लेखनमा अपूर्णता रहन सक्छ, विषयवस्तुको भोग, अनुभूति र स्पर्श प्रत्यक्षतः नगरेका कारण अनुभूति र वैचारिक प्रस्तुति जति तीव्र हुनुपर्ने त्यति नहुन सक्छ । आत्मकथा आफ्नै भोगाई, तथ्यपूर्ण र प्रामाणिक लेखन भएकाले यसले सम्बन्धित लेखक वा व्यक्तिका विषयमा गरिने अध्ययनका लागि सबैभन्दा मूल सामग्री पनि बनिदिन्छ । यस आधारमा पनि आत्मकथा साहित्यिक जगत्मा स्थापित र मूल्यवान लेखन विधाका रूपमा प्रतिस्थापित छ ।
धेरै विद्वान्हरूले तत्कालीन राजा पृथ्वीनारायण शाहको दिव्योपदेश (१८३१) लाई नै आत्मकथाको आधार मानेका छन् । यस कृतिको प्रकाशन २००९ पछिको समयमा यसको सकारात्मक विषय प्रस्तुत हुन सहयोग मिलेको मत प्रा. राजेन्द्र सुवेदीको छ । उनकाअनुसार पृथ्वी नारायण शाहले आफ्नै जीवनीको सीममा अनुभूत भएका सन्दर्भ प्रकाशमा ल्याएको पक्षले यस कुरालाई मान्न सकिन्छ । चिरञ्जीवी शर्मा पौड्यालको आफ्नो कथा ( रका.१९७४) यस किसिमको अर्को कृति हो । यद्यपि यस कृतिको प्रकाशन २०१४ मा भएको हो । यस कृतिमा लेखकको वंशपरिचय, लेखकले व सं १९३०असारमा चिफ कर्नेल लोकबहादुर थापासँग सल्यान जाने खरिदार माताभद्र जयनाथसँग डोकामा बसेर गएको, उतै दाङ, देउखुरी, नेपालगन्ज, (नयाँ मुलुक) काठमाडौँ आदि स्थानमा भ्रमण गरेको विषयवस्तु समेटिएको छ । यस आधारमा यस कृतिको नाम आत्मकथा परम्परामा नछुटाइ लिइन्छ ।
नरेन्द्रमणि आ दीको भएका कुरा, प्रेमराज शर्माको तपस्वीको अनुभव, कृष्णकुमारीको एक शोकमय जीवनी, चक्रपाणि चालिसेको आत्मपरिचय आदि आत्मजीवनीहरू यस विधाका विकासका आधार देखिन्छन् ।
बालकृष्ण समको मेरो कविताको आराधना (२०२३) को प्रकाशनपछि यस विधाले जीवन्त र सशक्त स्वरूप प्रदर्शन गर्दछ । अहिले आत्मसंस्मरणात्मक रचनाहरू प्रशस्तै प्रकाशमा आएका छन् । कृष्ण चन्द्रसिंह प्रधानको नफकिर्ने ती दिनहरू (२०५९) सूर्यप्रसाद सापकोटाको मेरो जागिरे जीवन (२०६९), जगदीश घिमिरेको अन्र्मनको यात्रा (२०६४), विनोद चौधरीको विनोद चौधरी (२०७१), झमक घिमिरेको जीवन काँडा कि फूल (२०६५), भूपालमान सिंह कार्कीको आत्म जीवनी (२०५१ ), हरिवंश आचार्यको चिना हराएको मान्छे (२०७१), किशोर नेपालको समय (२०७२), रुक्माङ्गद कटवालको रुक्माङ्गद कटवाल (२०७१) लक्ष्मण सत्यालको आत्मकथा (२०७१), भीष्मराज प्रसाईंको हाम्रा ती दिनहरू (२०७३) आदि आत्मकथाका रूपमा प्रकाशनमा आएका छन् । त्यस्तै साहित्यिक वृत्तमा कम चर्चा भए पनि सुरेन्द्र हमालको ओलम्पियन, विनोद चौधरीको विनोद चौधरी, गणेशमान सिंहको मेरा कथाका पानाहरू, सुशीला कार्कीको न्याय, सरस्वती ज्ञवालीको लाल्टिनको उज्यालो, अच्युतकृष्ण खरेलको आत्मकथा, बाबुराम भट्टराईको अविराम बाबुराम, कर्ण शाक्यको सोच, रामेश्वर थापाको बारुदमाथि उड्दा, शंकर उप्रेतीको जीवन एक सपना आदि उल्लेख्य छन् ।
पछिल्लो समय जगदीश घिमिरेको आत्मालाप, मदनमणि दिक्षितको जीवन महाभियान, मदनकृष्ण श्रेष्ठको महको म, लोकराज बरालको रोमाञ्चित जीवन, विजयकुमार पाण्डेको खुसी, नरहरि आचार्यको गणतन्त्र यात्रा, नयनराज पाण्डेको यार यस्ता कृतिले साहित्य मूल्यसहित र मुक्त अवस्थामै पनि नेपाली आत्मकथा लेखनको परम्परालाई निकै उर्वर बनाएका छन् । लेखकहरूले आत्मकथा लेखनका क्रममा समाज र जीवनका अनेक सन्दर्भ, घटना र आयामहरूको पनि अभिलेखन गरेका छन् । यस अर्थमा काल्पनिक आख्यान पढ्नुभन्दा आत्मकथा बढी अभिप्रेरक र ज्ञानवफूक पनि हुन्छन् । अबको पुस्ताका हरेक क्षेत्रका समाज प्रतिष्ठित र अप्रतिष्ठित तर कर्मशील मानिसले आफ्नो कथा आफै लेखेर छोडिदिने हो भने नेपाली समाजका भावि पुस्तालाई आफ्नो बाटो आफै पहिल्याउने सामथ्र्य पुस्तक पठनबाटै मिल्न सक्छ ।
–सम्पादक